टीकापुर जग्गा हिनामिना प्रकरणमा सिआइबीले थप अनुसन्धान गर्ने

टीकापुर- कैलालीको टीकापुर जग्गा हिनामिना प्रकरणमा सिआइबीले थप अनुसन्धान गर्ने भएको छ । टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लेसमेत थप अनुसन्धान अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिनामिनामा संलग्न दुई सय ४९ जना विरुद्ध मुरुद्ध दायर गरेका बेला प्रहरीले समेत थप अनुसन्धान गर्ने भएको हो ।

कागजपत्र किर्ते बनाइएको घटना सम्बन्धी अनुसन्धानका लागि अख्तियारबाट पत्र आएको छ । लिखत किर्ते सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेका हो । जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र किर्ते बनाइएको खुलेपछि प्रहरीले पनि छुट्टै अनुसन्धान अघि बढाएको छ । यस सम्बन्धी अनुसन्धानका लागि अख्तियारले नै प्रहरीलाई पत्राचार गरेको थियो ।

गत २५ माघमा अख्तियारले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी २ सय ४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको अभियोग छ ।

टीकापुर नगर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजात जस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिद लगायत किर्ते गरी जग्गा हिनामिना भएको अख्तियारको दाबी छ । तिनै नक्कली कागजपत्र माथि प्रहरीले थप छानबिन थालेको हो । अख्तियारले नगर विकास समितिका पूर्व अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मी विरुद्ध मुद्दा दायर गरेको छ । २०६६ देखि पटक-पटक गरेर त्यसरी जग्गा हिनामिना भएको हो ।

नगर विकासका कागजात राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा नमुना मिसिलसँग नभिडेको पुष्टि भएपछि समितिको घडेरी व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा व्यक्तिविशेषका नाममा वितरण गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । आयोगले मालपोत र नापी कार्यालयका कर्मचारीलाई पनि प्रतिवादी बनाएको छ ।

मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जय बहादुर विष्ट, नापी कार्यालय, टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मान बहादुर चन्द र गणेश बहादुर बमलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको हो। प्रहरीले पनि पदाधिकारी, कर्मचारी र जग्गाधनी सबै माथि अनुसन्धान गर्ने भएको छ ।

Loading...