सुदूरपश्चिम प्रदेशले ओगट्यो नेपालको कुल भू-भागको १३ दशमलव २३ प्रतिशत क्षेत्रफल

कैलालीमा १६.६२ प्रतिशतले जनसंख्या बढ्दा अछाममा ११.१२ प्रतिशतले घट्यो

अत्तरिया- सुदूरपश्चिम प्रदेश हिमाल देखि तराई सम्मै फैलिएको छ । नेपालको कुल भू-भागको १३ दशमलव २३ प्रतिशत क्षेत्रफल (१९,५१६ वर्ग किलोमिटर) सुदूरपश्चिम प्रदेशले ओगटेको छ । सुदूरपश्चिमको पूर्वतर्फ कर्णाली र लुम्बीनी प्रदेश, पश्चिममा भारतको उत्तराखण्ड राज्य, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छ। प्रशासनिक हिसाबले सुदूरपश्चिममा १ उपमहानगरपालिका धनगढी, ३३ नगरपालिका र ५४ गाँउपालिका गरेर कुल ८८ स्थानीय तहमा विभाजन गरिएको छ ।

२०७८ सालको जनगणना अनुसार सुदूरपश्चिमको कुल जनसंख्या २६ लाख ९४ हजार ७८३ छ । प्रदेशका ९ जिल्लाहरु मध्ये कैलाली जिल्लाको जनसंख्या सबै भन्दा बढी ९ लाख ४ हजार ६ सय ६६ र दार्चुला जिल्लाको सबै भन्दा कम एक लाख ३३ हजार ३१० कुल जनसंख्या रहेको छ । बैतडी, डडेलधुरा, बझाङ, डोटी र अछाम जिल्लामा २०६८ सालको जनसंख्याको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ भने अन्य जिल्लाहरुमा बढेको छ ।

२०७८ सालको जनगणना अनुसार कैलाली जिल्लाको जनसंख्या सबै भन्दा बढी १६ दशमलव ६२ प्रतिशतले बढेको छ भने अछाम जिल्लाको जनसंख्या ११ दशमलव १२ प्रतिशतले घटेको छ । २०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्याको ९ दशमलव २४ प्रतिशत हिस्सा रहेको सुदूरपश्चिम प्रदेशको वार्षिक औषत जनसंख्या वृद्धिदर शून्य दशमलव ५२ प्रतिशत रहेको छ ।

साथै जनघनत्व १३९ जना प्रति वर्ग किलोमिटर रहेको छ जुन राष्ट्रिय जनगणना २०६८ मा १३१ जना प्रतिवर्ग किलोमिटर रहेको थियो । सुदूरपश्चिमको जनसंख्यामा पुरुषको संख्या १२ लाख ७२ हजार ७८६ र महिलाको संख्या १४ लाख २१ हजार ९९७ रहेको छ । लैंगिक अनुपात सबै भन्दा बढी मधेश प्रदेशमा १००.५५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ८९ दशमलव ५१ प्रतिशत रहेको छ ।

Loading...