सुदूरपश्चिममा तीन हजार पाँच सय ९४ नयाँ उद्योग दर्ता
मन्त्री धामीको एक वर्षे प्रगतिः ३५ सय ९४ नयाँ उद्योग दर्ता, १९ सय उद्यमी सिर्जना
धनगढी- सुदूरपश्चिममा तीन हजार पाँच सय ९४ नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत एक वर्षको अवधिमा सो संख्यामा नयाँ उद्योग दर्ता भएका हुन् ।
उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले आफ्नो एक वर्षे उपलब्धिहरू सार्वजनिक गर्दै सो अवधिमा उद्यमशीलता विकास सम्बन्धी तालिमबाट एक हजार २ सय ९८ महिला र ६ सय १६ पुरुष गरी जम्मा एक हजार ९ सय १४ जना नयाँ उद्यमी सृजना भएको दाबी गरेका छन् ।
साथै बजार अनुगमन गरी कालोबजारी नियन्त्रण, म्याद गुज्रेका सामाग्रीहरू नष्ट गर्नुका साथै दण्ड जरिवाना र उद्योग तथा वाणिज्य क्षेत्रबाट ३ करोड ९१ लाख २ हजार १५९ रुपैयाँ राजश्व आम्दानी भएको प्रगती विवरणमा उल्लेख छ । सो अवधिमा पर्यटकीय पार्क निर्माण गरी २० जना व्यक्तिहरुलाई नेचर गाइड तालिम दिएको समेत मन्त्रालयले जनाएको छ । वन क्षेत्र विकासतर्फ ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षारोपण र सामुदायिक वन क्षेत्र हस्तान्तरण गरिएको विषय पनि प्रगति विवरणमा उल्लेख छ ।
जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत घर निर्माण तथा मर्मतका लागि सहुलियत दरमा ४ सय २१ घरधुरीलाई ३२ हजार ५ सय ५२ घनफिट काठ वितरण, वन पैदावार निकासीबाट ८ करोड ८१ लाख ३० हजार ८४९ रुपैयाँ राजश्व आम्दानी भएको छ। । साथै पाँच वर्ष देखि फाजिलमा रहेका संघमा फुस दरबन्दी रही यस प्रदेशमा कामकाज गरिरहेका ३२ जना फरेष्टरहरुको दरबन्दी सृजना गरी पदस्थापन गरिएको पनि सार्वजनिक पछिल्लो प्रगति विवरणमा उल्लेख छ ।