धनगढी- पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । वरिष्ठ साहित्यकारसमेत रहेको चन्दको धनगढीमा बिहिवार नागरिक अभिनन्दन गरिएको हो ।
धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरेको छ । उनलाई विहान पार्क मोडदेखि ट्राफिक चोक हुदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजा सहित नगरपरिक्रमा पनि गराईएको थियो ।
नागरिक अभिनन्दन समारोह समितिका संयोजक माया प्रकाश भट्टकै अध्यक्षतामा सम्पन्न अभिनन्दन समारोहमा सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघसंस्थाहरूले अभिनन्दन पत्र र दोसल्लाले वरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरे ।
सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गरिएको हो । चन्द बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर २ कुर्कुट्या भन्ने स्थानमा जन्मेका हुन ।
विहीबार उनलाई ८४ वर्ष पनि पुगेका छन । ८५ औँ जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो । उनका थुप्रै कृतिहरू मध्ये विसर्जन कथा संग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरुस्कार पाईएको थियो ।
नेपाली साहित्यको इतिहासमा उनका पाहुनाघर, विसर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौँ खेलाडी, लेमिङहरू, रात्री भोज र नेता साथी जस्ता दर्जनौँ कृतिहरू प्रकाशित छन। चन्द नेपालमा चार पटक प्रधानमन्त्री भए ।