अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा नगर स्तरीय सरोकारवालाहरुसंग न्याय सम्पादन त्रैमासिक समिक्षा कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिकाको न्यायिक समितिद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख शारदा देवि रोकायाको अध्यक्षतामा भएको हो ।
न्यायिक समितिले हेर्न पाउने मुद्दाहरु लगायतका विषयमा छलफल गरिएको अन्तरक्रिया कार्यक्रममा अधिवक्ता गणेश कडायतले प्रशिक्षण गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिदत्त भट्ट, नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष, न्यायिक समितिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । गोदावरीमा न्यायिक समितिमा २७ ओटा नयाँ मुद्दा दर्ता ः गोदावरी नगरपालिकाको न्यायिक समितिमा २७ ओटा नयाँ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा २७ ओटा नयाँ मुद्दा दर्ता भएका हुन् ।
न्यायिक समितिका अनुसार चालु वर्षमा गत आर्थिक वर्षका १८ विवाद सरिआएका छन् । सरिआएका र नयाँ गरी जम्मा ४५ मुद्दा दर्ता भएकामा समितिले ३८ मुद्दा फर्छ्यौट भइसकेका जनाएको छ । बाँकी ७ ओटा मुद्दा फर्छ्यौटको प्रक्रियामा रहेका बताइएको छ ।
फर्छ्यौट भएका ३८ मुद्दामध्ये २५ मुद्दा न्यायिक समितिमा मेलमिलाप भएका र १३ मुद्दा मेलमिलाप केन्द्रमा मेलमिलाप भएका बताइएको छ ।समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी जग्गा विवादका १२ मुद्दा परेका छन् । तीमध्ये १० ओटा फर्छ्यौट भइसकेका छन् भने दुई मुद्दा फर्छ्यौटको प्रक्रियामा रहेका छन् ।
त्यसैगरी लेनदेनका ८ मुद्दा परेकामा ७ ओटा फर्छ्यौट भइसकेका छन् । गालीगलौजका ६ मध्ये ५ ओटा, घरबहालका ३ मध्ये १ र खानलाउन तथा शिक्षादीक्षा नदिएको भन्दै परेका २ मुद्दामध्ये १ मुद्दा फर्छ्यौट भएको छ ।
बाटो विवादका ३, अंश मुद्दाका २, श्रीमान श्रीमतीबिच विवादका ४, बाली नोक्सानी, जेष्ठ नागरिक पालनपोषण नगरेको, आफ्नो घरको छतको पानी अरुको जग्गामा झारेको, फोहोरमैला फालेर असर गरेको र छिमेकीले घर बनाउँदा आफ्नो घरमा क्षति पारेको भन्दै क्रमशः १/१ मुद्दा दर्ता भएकामा सबै फर्छ्यौट भइसकेका छन् ।