बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिका-७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको छैन । राजनीतिक दलले वडामा सचिवको माग गर्दै तालाबन्दी गरेको दुई हप्ता भन्दा बढी समय बितेको छ ।
वडा कार्यालयबाट हुने काम कारबाही प्रभावित बन्दै गएको छ भने स्थानीयवासी आक्रोषित भएका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि अहिले सम्म सो वडामा सचिव नपठाएकोले तालाबन्दी गरेको नेपाली कांग्रेस बुढीगङ्गा नगरपालिका-७ का वडा सभापति वीर बहादुर केसीले बताए । उनले भने, “लामो समयदेखि वडामा सचिव नहुँदा यहाँका स्थानीयवासीले पाउनु पर्ने सबै सेवा सुविधाका लागि अन्य वडामा जानु परेको छ ।”
पालिकाका अन्य वडाले सचिव पाउनु र यो वडाले सचिव किन नपाएको भन्दै उहाँले यस वडाका सबै राजनीतिक दलको संयुक्त रोहबरमा ताला लगाएको स्पष्ट पार्नुभयो । वडा सचिव नपाउँदा सम्म ताला नखोलिने केसीले बताए । लामो समयसम्म वडामा तालाबन्दी भएपछि स्थानीयवासी नागरिकता सिफारिस, जन्मदर्ता, विवाहदर्ता, बसाँइसराइ, मृत्युदर्ता लगायतका सिफारिस लिनबाट वञ्चित भएका छन । वडा कार्यालयबाट पाउने विभिन्न सेवा सुविधाका लागि अन्य वडाको सहारा लिनु पर्ने अवस्था आएको छ । वडा प्रमुख नपठाउँदा अन्य वडा जानु पर्ने हो भने यो वडाको के काम भनेर तालाबन्दी गरेको नेकपा (एमाले)का प्रतिनिधि प्रेम बहादुर विष्टले बताए ।
उनले भने, “वडाले नगरपालिकामा सचिवका लागि धेरै पटक पत्रचार गरेको भए पनि अहिलेसम्म नपठाएकोले वडामा तालाबन्दी गरेका हौँ । जबसम्म वडाले सचिव पाउँदैन तब सम्म यो ताला खोल्दैन ।”नेपाली कांग्रेस, नेकपा (एमाले), नेकप ा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका वडा प्रतिनिधिको रोहबरमा माघ ८ गते तालाबन्दी भएको वडाध्यक्ष भुवन सिंह केसीले बताए ।
आफू दोस्रो कालको निर्वाचित भएदेखि अहिलेसम्म वडाले सचिव नपाएको भन्दै उनले दुस्ख व्यक्त गरे । वडामा सचिव पठाइ दिनु भनेर धेरै पटक मौखिक तथा लिखित रूपमा नगरपालिकामा आग्रह गर्दा पनि सचिव नपठाएको गुनासो गरे । सचिव नआएको भन्दै वडामा ताला बन्दी गरेको एकसाता भित्रै कर्मचारी पठाएको बुढीगङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शङ्कर नाथले बताउनु भयो । उनले भने, “पहिला कर्मचारी नपाएको भन्दै तालाबन्दी गरेको हो ।
अहिले फेरि सडक विद्यालय र स्वास्थ्य लगायतका भौतिक पूर्वाधारको रकम भुक्तानी नपाएको भन्दै ताला लगाएको भन्ने कुरा सुनिएको छ ।” आर्थिक वर्ष २०७९/८० को सडकमा १० लाख रुपियाँ र विद्यालयको पाँच लाख रुपियाँ बजेट हो । त्यो अनुसार काम भएको छैन्, जति काम भयो त्यतिको रकम लिनुहोस् भन्दा उहाँहरूले मान्नु भएको छैन्, काम नै नगरेर त्यसै रकम दिन नसक्ने प्रमुख प्रशासकीय अधिकृत नाथले बताए ।