खुटीया र खैरानामा अवैध उत्खनन् गरिरहेका १९ गाडी नियन्त्रणमा

धनगढी- कैलालीको गोदावरी, खुटीया र खैराना नदीमा अवैध उत्खनन् गरिरहेका १९ गाडी प्रशासनले नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन भैरहेको ब्यापक गुनासोपछि जिल्ला समन्वय समितिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बन र आन्तरिक राजश्वका प्रमुख सदस्य रहेको समितिले उक्त ढुवानीका साधनहरु कब्जामा लिएको हो ।

गोदावरी नगरपालिकाको गोदावरी खुटीया र खैराना नदीबाट एक्स्काभेटर र डोजर सहितका १९ गाडी नियन्त्रणमा लिएको जनाएको छ । नदीबाट मापदण्ड विपरीत ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा प्रयोग भएका ३ वटा एक्स्काभेटर, ३ जेसिबी, १० वटा टिपर र ३ वटा ट्याक्टर खानी तथा नदीजन्य पदार्थको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुषाल नेतृत्वमा गएको टोलीले अवैध उत्खननमा प्रयोग भइरहेका गाडीहरू नियन्त्रणमा लिएको हो ।

Bhancha ghar0

गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेको भन्ने समाचार र सार्वजनिक गुनासो प्राप्त भएपछि संयोजक भुषाल सहित प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, कैलाली प्रहरी प्रमुख एसपी देवेन्द्र बहादुर पाल, डिभिजन वन कार्यालय धनगढीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेल, सशस्त्र प्रहारी बलका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान र राजस्व अनुसन्धानका प्रमुख सहितको टोलीले गोदावरी र खैराना नदीबाट १९ वटा गाडी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका गाडीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको र नदी उत्खननका विषयमा थप अध्ययन गरिने जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख भुषालले बताएका छन् । आईतबार तीन वटै नदीको अनुगमनमा गएको थियो ।

उनले तीन वटै नदीमा वातावरण प्रभाव मुल्यांकनको प्रवाह नै नगरी मनपरी नदीजन्य पदार्थको संकलन भईरहेको बताए । ‘गोदावरी नदीको दोहान हेर्दा त कति मनपरी गरेको होला झैं लाग्यो । वितण्डा देखियो । अनुगमन समितिका सबै सदस्यहरु नै चकित परे’ उनले भने । गोदावरी नदीका बीच गहिरा गहिरा खडल बनाएर ग्राभेलका चाङ लगाईका छन । ढुंगा छान्ने मेसिन त्यतै छ । आधादर्जन स्काभेटर र जेसिबिहरु, सैयौं टिप्पर र ट्याक्टरहरुको मेला जस्तै देखिएको उनले बताए ।

Loading...