विद्युतीय धरापमा परेर शाहको मृत्यु भएको खुलेपछि एक जना पक्राउ

धनगढी- कैलालीमा विद्युतीय धरापमा परेर शाहको मृत्यु भएको खुलेपछि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घोडाघोडी नगरपालिका-१० को तुलसीपुर सामुदायिक वनमा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर धन बहादुर शाहको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-४ गणेशपुरका मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र विश्वकर्माले जानकारी दिए । उनका अनुसार चौधरीले जंगलमा जनावरका लागि विद्युतीय धराप थापेका थिए । सोही धरापमा परेर शाहको मृत्यु भएपछि उनलाई अनुसन्धानका लागि मंगलवार पक्राउ गरिएको डीएसपी विश्वकर्माले बताए ।

चौधरी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । १० माघमा सामुदायिक वनमा थापेको विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको थियो । उनीसँगै गएका मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका थिए । अहिले पनि उपचार गराइरहेका खत्रीको अवस्था सुधारोन्मुक रहेको प्रहरीले जनाएको छ ।

Loading...