धनगढी- मिटरब्याज सम्बन्धी उजुरीमा अब प्रहरीले छानबिन तथा अनुसन्धान गर्ने भएको छ । सरकारले यस सम्बन्धी अधिकार प्रहरीलाई दिने निणर्य गरेको हो ।






गत साताको मन्त्रिपरिषद्को निणर्य अनुसार गृह मन्त्रालयले कार्यविधि बनाई कार्यान्वयनका लागि सोमबार प्रहरीलाई पत्राचार गरेको छ । जस अनुसार यस अघि जिल्ला प्रशासन कार्यालयमा फस्र्योट हुन बाँकी रहेका उजुरीसमेत अब प्रहरीमा पठाउने तयारी छ। अब पीडितहरूले सीधै प्रहरीमा उजुरी दिन सक्नेछन् ।





गृह मन्त्रालयले बनाएको कार्यविधि अनुसार पीडितले पेस गरेको प्रमाण तथा लेनदेनको रकमका आधारमा वर्गीकरण गरी प्रहरीले प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ पीडित र पीडक दुवैलाई सूचना दिई प्रहरीले निश्चित समय दिएर मिलापत्रका लागि प्रोत्साहन गर्ने र मिलापत्र हुन नसकेमा मुद्दा प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ । उजुरी फस्र्योटका सम्बन्धमा गरेका प्रगति विवरण मासिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।
मिटरब्याज समस्या समाधानका लागि यस अघि सरकारले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । म्याद सकिएपछि आयोगमा परेका उजुरी जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको थियो । सो आयोगकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले यस सम्बन्धी अधिकार प्रहरीलाई दिएको हो । कैलालीमा मात्र मिटर ब्याजसँग सम्वन्धित करिब दुई सय बढी उजुरी यस अघि कैलाली प्रशासनमा परेका थिए ।




