धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री विरुद्ध सोमबार प्रहरीमा उजुरी पर्यो । मन्त्री झपट साउद विरुद्ध कैलाली प्रहरीमा एक जनाले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दर्ता गराएका थिए ।
बझाङको बुँगल नगरपालिका-१ का धन बहादुर बोहराले आफुले रामारोसन गाउपालिका-६ का विरबहादुर साउदको छोरा ४३ वर्षीय झपट बहादुर साउदले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनि रुपयाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै धन बहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गराएका थिए ।
बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । तर आज (मंगलबार) विहान उनै बोहरा हाम्रो (मन्त्री जी र मेरो) कुरो मिलिसकेको छ भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लिन आएको प्रवक्ता कुलदिप चन्दले बताएका छन् ।
‘हाम्रो कुरो मिलिसक्यो हजुर, यसो सामान्य मनमोटाव भएको हो निवेदन फिर्ता पाउँ भनेर बोहरा आफै प्रहरीमा आइपुगेका छन् ।’, प्रहरी प्रवक्ता चन्दले भने । दुबै पक्षबिच विवाद मिलिसकेको प्रहरीले जनाएको छ । विहान मन्त्री साउद समेत प्रहरीमा पुगेका थिए । मन्त्री साउदले पनि उनी सँग कुनै लेनदेन नै नभएको बताउँदै आएका थिए ।