धनगढी– कैलालीको बर्दगोरीया गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्ल नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दामा दोषी ठहर भएकी छन्।
विशेष अदालतका न्यायाधीश खुशी प्रसाद थारु, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज (शुक्रवार) उनलाई दोषी ठहर गरेको हो। मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अभियोगसहित विशेष अदालतमा मंसिर १५ गते मुद्दा दायर गरेको थियो। मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई–स्कूल परीक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको ठहर भएको छ।