

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका १९ सडक कालोपत्रका लागि बजेटको सुनिश्चितता पठाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीका १९ सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो ।



धनगढी उपमहानगरपालिका क्षेत्रका १९ सडक कालोपत्रका लागि प्रदेश सरकारले २० करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सडकको संख्या धेरै र बजेटको मात्रा कम भएपछि थप बजेट माग गरिएको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, कैलालीले ६१ करोड २४ लाखको बजेट सुनिश्चितता पाएको हो । पूर्वाधार विकास कार्यालय, कैलालीले आर्थिक मामिला मन्त्रालयबाट सोमवार बजेट सुनिश्चितताको पत्र पाएको हो ।


सोमवार मात्र बजेटको सुनिश्चित पाएकाले आइतवारसम्म बोलपत्रका लागि सूचना सार्वजनिक गर्ने तयारीमा पूर्वाधार कार्यालय, कैलाली रहेको छ । पूर्वाधार कार्यालय, कैलालीका निमित्त प्रमुख रामचन्द्र खत्रीले आर्थिक मामिला मन्त्रालयबाट बजेट सुनिश्चितको पत्र आएकाले बोलपत्रको प्रक्रियामा रहेको बताए ।
धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) गरे अनुसारका सबै सडक कालोपत्रका लागि भने सूचना सार्वजनिक हुने छैन । धनगढीमा एक किलोमिटर सडक नाली, फुटपाथ सहित कालोपत्रका लागि झन्डै ७ करोड बजेट आवश्यक हुन्छ । सोही अनुसार सडकको लम्बाइ घटाइने भएको छ । पूर्वाधार कार्यालय, कैलालीले सडकको लम्बाइ कम गरेर कालोपत्रका लागि बोलपत्रको सूचना सार्वजनिक गर्ने तयारी थालेको छ।