धनगढी- कैलालीका सरोज चौधरी २९ औँ पटक आफ्नो गाउँको भलमन्सा (बरघर) मा चयन भएका छन् । धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका उनी २९ औँ पटक भलमन्सा भएका हुन् ।
चौधरी २०५२ साल देखि लगातार सो गाउँको भलमन्सा बन्दै आएका छन् । गाउँको भुरा खेलले उनलाई सर्वसम्मतले भलमन्साको जिम्मेवारी सुम्पेको हो । गाउँ समाजमा आफूले निःस्वार्थ रूपमा बिना पारिश्रमिक सेवा गर्दै आएको भलमन्सा चौधरीले बताए । हिजो बुबा-बाजेले गाउँको नेतृत्व गरेकोमा उनीहरू बितेपछि त्यो जिम्मेवारी आफ्नो काँधमा आएको उनले चर्चा गरे ।
यसअघि, चौधरीका बुबा रामचन्द्र र बाजे मन्ठुले धनगढी गाउँको भलमन्साको रूपमा आफ्नो जीवनभर काम गरेका थिए । उनले परिवारले तीन पुस्तादेखि धनगढी गाउँको नेतृत्व गर्दैआएको छ । गाउँ समाजको नेतृत्वको जिम्मेवारी पाएपछि भलमन्साले विकास निर्माण, आपसी मेलमिलाप, सरोकारवालासँग समन्वय लगायतको काममा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको स्थानीयको भनाइ छ । चौधरीले राम्रो काम गर्दै आएकाले उनलाई फेरि भलमन्साको रूपमा चयन गरेको धनगढी गाउँका स्थानीय सूर्य चौधरीले बताए ।