कैलाली र कञ्चनपुरबाट चार लाखका भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ४ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरेको छ । कैलालीबाट २ लाख १९ हजार र कञ्चनपुरबाट १ लाख ८२ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद हो ।

Bhancha ghar0

धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बालुवाघाटबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २८ हजार ८ सय बराबरको कोट, स्विटर, हाईनेक, जर्सी लगायतका सामानहरू बरामद गरिएको छ । त्रिनगर ब्यारेल नजिकबाट २० हजार बराबरको चिनी, प्याज, चना, मिठाई, साबुन, झिल्ली, स्याम्पु, खुर्सानी लगायतका सामानहरु बरामद गरिएको छ । बग्राकटानबाट अन्दाजी २४ हजार बराबरको प्याज, हरियो मटर, चना, मसला, सिमल मिर्च लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरीले बताएको छ ।

यस्तै वडा नम्बर १० को चकमेलीघाटबाट ३५ हजार बराबरको मोबिल, भाँडा बर्तन, स्विटर, हाईनेक, टाउजर, सुट, बिडी लगायतका सामानहरु र टिकापुर नगरपालिका-९ खक्रौलाबाट अन्दाजी १ लाख १० हजार बराबरको प्याज बरामद गरिएको छ ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ विद्युत कार्यालय नजिकबाट भन्सार छलिको १ लाख १ हजार बराबरको कपडा, जुत्ता, पोलिथिन, गुड, चिनी, मिश्री, पेठा, तेल, चियापत्ती, जिरा, दाल लगायतका सामानहरु बरामद गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी स्थित बेलौरी सडक खण्डबाट अन्दाजी ८० हजार ८ सय बराबरको भाँडा बर्तन, प्लास्टिकको डोरी लगायतका सामानहरु बरामद गरिएको छ । दुबै जिल्लामा बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Loading...