सुदूरपश्चिमा सामुदायिक र निजी गरी २५ वटा होमस्टे सञ्चालनमा, पर्यटक नआउँदा सञ्चालक निरास

धनगढी- सुदूरपश्चिम होमस्टे अझै फस्टाउन सकेको छैन । सुदूरपश्चिममा होमस्टेको संख्या २५ पुगेको छ । होमस्टे महासङ्घ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले सामुदायिक र निजी गरी २५ वटा होमस्टे सञ्चालनमा रहेको बताए । तर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय धनगढीको २०७८ को तथ्याङ्क अनुसार १३ वटा होमस्टे दर्ता भएका छन् ।

ती मध्ये सामुदायिक स्तरमा सञ्चालित कैलालीको धनगढी उपमहानगरपालिका-१६ स्थित थारू होमस्टे, गाउँ भादा, घोडाघोडी नगरपालिका-४ स्थित माघी थारू गाउँ सामुदायिक होमस्टे, लम्कीचुहा नगरपालिका-३ स्थित बसेरा थारू होमस्टे व्यावसायिक रूपमा सफल भएका छन् ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्थित विजयसाल होमस्टे, भीमदत्त नगरपालिका-१४ स्थित रानाथारू सामुदायिक होमस्टेले व्यावसायिक गतिविधि तीव्र पार्दै आएको महासङ्घका अध्यक्ष दहितले बताए । बझाङको खप्तड छान्ना गाउँपालिका-३ स्थित मुनाल कृषि तथा पर्यटन होमस्टेले पनि व्यावसायिक कारोबारमा राम्रो रहेको दाबी छ । सरकारका कार्यक्रमहरू होटलमुखी भएपछि अपेक्षित कारोबार गर्न नसकिएको होमस्टे सञ्चालकहरूको गुनासो छ ।

थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले प्रदेश सकार तथा स्थानीय तहका सबै कार्यक्रम सहरका सुविधा सम्पन्न होटल, रिसोर्टमै हुने हुँदा होमस्टेहरू सरकारबाटै उपेक्षित भएको बताए । पछिल्लो समय होम स्टेको विकास र प्रवर्धनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी गर्दै आएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले भने, ‘पर्यटन प्रवर्धन गरी स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जनामा होमस्टेको विकास गर्न जरुरी छ ।’ प्रदेश सरकारले बर्सेनि होमस्टे व्यवस्थापन सम्बन्धी तालिम दिँदै आएको छ । यो सँगै होमस्टे भित्रका घरको भित्री सजावट तथा सुविधामा लगानी गर्दै आएको छ ।

मन्त्री धामीले भने, ‘हाम्रा परम्परागत घरको बाहिरी स्वरूप कायम गर्नुपर्‍यो । घरभित्र के कस्तो सुविधा हुने, कस्तो सजावट गर्ने त्यसमा हाम्रो लगानी हुन्छ ।’ प्रदेश सरकारले प्रतिहोमस्टे व्यवस्थापनमा २० लाख सम्ममा खर्च गर्दै आएको छ । प्रदेश सरकारले चालु वर्षमा भने १५ लाख बजेट होमस्टे व्यवस्थापनका लागि खर्च गर्ने बताएको छ ।

Loading...