गोदावरी नगरपालिकाका नगर प्रमुख प्रति उपप्रमुख सहितका जनप्रतिनिधिले जनाए असन्तुष्टि

अत्तरिया- कैलालीकाे अत्तरियामा रहेकाे गोदावरी नगरपालिका का नगर प्रमुख बिरेन्द्र भट्टको कार्यशैली प्रति नगर-उपप्रमुख शारदा रोकाया सहितका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले मंगलबार नगरपालिका प्राङ्गणमा पत्रकार सम्मेलन गरेरै असन्तुष्टि जनाएका हुन् । नगर-उपप्रमुख रोकायाले बहुमतको भरमा नगरपालिका चलाउन खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘बैठकका एजेन्डा नै नल्याएर निणर्य गर्न थालिएको छ । यो लोकतन्त्रको मूल्य मान्यता विपरीत हो ।’ उनले कार्यपालिकाको १०५ औँ बैठक झुक्याएर बिना एजेन्डा बोलाएको दाबी गरिन् ।

’१०५ औँ बैठक नै भएको छैन । हाम्रा साथीहरुलाई सल्लाह गर्नुछ भनेर बोलाएका रहेछन् । पछि सामान्य बसाइलाई बैठक गरियो भनेर निणर्य गरेछन् । त्यही बैठकबाट नगरपालिकाको शिलान्यास भइसकेको भबनलाई पुनः उदघाटन गर्ने निणर्य गरेछन् । यस्तो गर्न पाइन्न । नगरपालिकाले गर्नुपर्ने विकासका अनेक कैयन कामहरु छन् । पुर्व जनप्रतिनिधिले उद्घाटन गरेको भवन फेरि किन उद्घाटन गर्नुपर्यो ?’

गोदावरी- ७ कि वडा अध्यक्ष कलावती साउँदले पनि नगरप्रमुखले आफुहरुको कार्यपालिका बैठकमा अपमान गरेको गुनासो गरिन । ‘१०६ औँ बैठक भनेर यो पटक एजेन्डा दिएर बैठक बोलाए तर हामीले यो बैठक १०५ औँ हुनुपर्ने माग गरेपछि बैठकबाट बहिर जान निर्देशन मेयर ले दिए । यो कहाँ को कानुन हो ? १०५ औँ कार्यपालिकाको बैठक नबसेर १०६ औं बैठक कसरी हुन्छ भन्ने हाम्रो माग हो,’ साउंदले भनिन् ।

यस्तै वडा नम्बर ५ का वडाअध्यक्ष शुद्दी चौधरीले पनि मेयरको कार्यशैली लोकतन्त्र विरोधी रहेको बताए । उनले भने- ‘मेयरका स्वकीय सचिव मार्फत सामान्य छलफल छ भनेर बोलावट भएको तर त्यसलाई नै १०५ औँ बैठक भनेर निणर्य गरेको रहेछ । त्यसमा हाम्रो आपत्ती छ ।’ साथै एमाले निकट जनप्रतिनिधिहरुले कार्यपालिकाको १०६ औँ बैठक बहिष्कार समेत गरेका छन् ।

Loading...