टीकापुर- टीकापुर नगरपालिका-५, मौरनियाका भिखुराम चौधरीका दुईवर्षे छोरालाई लगातार ज्वरो आएपछि अस्पतालमा जँचाए । औषधी उपचार गर्दापनि निको नभएपछि सिकलसेल भएको थाहा भयो । उक्त रोग पत्ता लागेपछि बालकको नियमित उपचार भइरहेको छ ।
भिखुरामले छोरामा लागेको रोग पत्ता लगाउनै धेरै समय खर्चिए पनि अहिले भने सिकलसेलको पहिचान गाउँघरमै हुने गरेको छ । भजनी नगरपालिका-१ गौनियाँका ५२ वर्षीय खोजराम चौधरीले आफ्नै वडामा आयोजना गरिएको सिकलसेल स्क्रिनिङ क्याम्पमा जँचाउँदा सिकलसेलको शङ्कास्पद लक्षण देखायो । सेती प्रादेशिक अस्पताल धनगढीमा पुनः परीक्षण गर्दा सिकलसेल पुष्टि भएको थियो ।
कमजोर हुँदै गएको महसुस गरेपनि विज्ञ चिकित्सकसहितको उपचार नपाएका खोजरामको गाउँमै लागेको शिविरबाट रोगको पहिचान भएको हो । पश्चिम नेपालका थारू समुदायमा देखिने यो सिकलसेल वंशाणुगत रोग भएको चिकित्सकको भनाइ छ । सिकलसेल भएमा रक्तकोष हँसिया जस्तै बाङ्गिने र फुट्ने गर्छन् । रक्तअल्पता हुने, खाना नपच्ने र मानिस कमजोर हुँदै जाने यसका लक्षण हुन् ।
यस रोगको नियन्त्रणका लागि नियमित औषधी उपचारका साथै पोषण र बेला बेलामा रगत दिनुपर्ने हुन्छ । चिकित्सकका अनुसार समयमै उपचार गरेमा स्वास्थ्य अवस्था खराब हुनबाट जोगिन सकिन्छ । कृषि, मजदुरी र रोजगारीका लागि देश/परदेश धाउने तर आफ्नो अवस्था खराब हुँदासम्म पनि चासो नदेखाउनेका लागि सरकारले गाउँमै पुगेर स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश डगौरा थारूले बताए ।
यसै साता जानकी गाउँपालिका-७ मा सञ्चालन गरिएको शिविरमा ५४६ जनाको रगत परीक्षण गर्दा २२१ जनामा र जानकी-९ मा २१२ जनाको परीक्षण गर्दा ३० जनामा सिकलसेल ट्रेट (सिकलसेलका वाहक सेल) देखा परेको पालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय कैलालीले यस वर्ष स्थानीय पालिकासँगको समन्वयमा पाँच वटा पालिकामा सिकलसेलको स्क्रिनिङ गरेको छ । गत वर्ष १० वटा पालिकाका १८ हजार २९३ जनाको सिकलसेल एनिमिया स्क्रिनिङ गर्दा ८३ जना पोजेटिभ र २ हजार ४४८ जना टे्रट (सिकलसेल एनिमियाको वाहक) भेटिएका थिए ।
जनस्वास्थ्य अधिकृत मीनबहादुर धामीका अनुसार सिकलसेलको ट्रेट देखिएका बिरामीलाई सेती प्रादेशिक अस्पतालमा पुनः परीक्षण गरी निःशुल्क उपचार हुने गरेको छ । सरकारले सिकलसेलको उपचार निःशुल्क गरे पनि सबै अस्पतालमा सो सेवा नहुँदा समस्या देखिएको छ । कैलाली जिल्लामा मात्रै एक हजार तीन सय सिकलसेलका बिरामी रहेका छन् । उपचार भने दुई वटा अस्पतालमा मात्रै हुने गरेको छ । सिकलसेलको सेती प्रादेशिक अस्पताल धनगढी र निजी क्षेत्रको घोडाघोडी अस्पताल सुखडमा मात्रै उपचार हुने गरेको छ ।
प्रादेशिक अस्पतालमा सिकलसेलका नौ सय जनाभन्दा बढी बिरामी उपचाररत रहेका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढी नै रहेको सामाजिक सेवा एकाइ प्रमुख गौरी जोशीले बताए । सिकलसेलका बिरामीको उपचार गर्न सक्ने क्षमता भएको टीकापुर अस्पतालबाट पनि सो सेवा नियमित गर्दा चाप घट्ने भनाइ उनको छ । यस्तै सिकलसेलको निःशुल्क उपचार हुने घोडाघोडी अस्पतालमा ३९६ जना दर्ता रहेकोमा केहीको मृत्यु र केही अन्यत्र गएकाले हाल ३५० जनाले नियमित उपचार लिइरहेको अस्पतालका कर्मचारी सोमेन्द्र चौधरीले बताए ।
टीकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रेमकुमार राईले टीकापुर क्षेत्रमा सिकलसेलका बिरामीले परीक्षण गराउनु पर्दा शुल्क तिर्नुपर्ने र औषधी चलाउँदा केही जटिलता आएमा सहज नहुने अवस्था रहेको बताए । उनले सो कार्यका लागि बजेट छुट्टिएर आएमा निःशुल्क उपचार सेवाका साथै अफ्ठ्यारोमा पनि सहज ढङ्गले सेवा दिन सकिने जानकारी दिए । माथिल्लो सरकारले बजेट दिएमा टीकापुर अस्पतालमा पनि सिकलसेलका बिरामीको उपचार गराउन सकिने भनाइ उनको छ ।