


धनगढी– बिभिन्न कार्यक्रमकासाथ यस बर्षको अन्तराष्ट्रिय अपाङ्गता दिवस सुदूरपश्चिममा तीन दिन सम्म भव्यताका साथ मनाइने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिको अगुवाइमा “दिगो बिकासका लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका ब्यक्तिहरुको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता” भन्ने मुख्य नारा सहित ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन बिभिन्न समितिहरु गठन गरिएका छन् ।


शुक्रबार धनगढी उप महानगरपालिका नगर उप- प्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा बसेको दिवस समन्वय बैठकले राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउदको सयोजकत्वमा १७ सदस्यीय दिवस मुल समारोह समिति गठन गरेको छ ।



उक्त कार्यक्रमको खर्च ब्यबस्थापन र समन्वयका लागि सरकारी गैरसरकारी तथा निजि र ब्यवसायिक क्षेत्र संग सहकार्य गर्न अपाङ्गता अभियानकर्मी भिम बहादुर शाहको संयोजकत्वमा ९ सदस्यीय दिवस ब्यबस्थापन समिति बनाइएको छ भने कार्यक्रमको प्रचार प्रसार गरि मंसिर १५ गते साझ पत्रकार भेटघाटको आवश्यक ब्यबस्थापन गर्न पत्रकार भवनी ऐरलाई जिम्मेवारी दिइएको छ ।
दिवसको अवसरमा अपाङ्गता भएका युवाहरूलाई आय आर्जन र रोजगारि संग जोडन सीपयुक्त युवाहरूको दक्षता र क्षमता प्रदर्शनी सहित सरकारी गैरसरकारी र निजि तथा प्राईभेट क्षेत्रका उद्योगी व्यावसायिहरुलाई आमन्त्रण र रोजगारी सृजना गर्न अनुरोध गर्ने साथै स्टल निर्माण गरी आफ्नो सीप कला र दक्षता प्रदर्शन गर्ने उद्देश्यले मंसिर १६ र १७ गते २ दिने अपाङ्गता युवा उद्यमशिलता स्वरोजगार महोत्सवको आयोजना गर्ने निणर्य भएको महासघका सचिब नन्दराज भट्टले जानकारी दिए ।
उक्त अवसरमा अपाङ्गता नागरिकलाई रोजगारि दिइरहेका ब्यक्तित्वलाई सम्मान तथा थप रोजगारी सृजनाका लागि सबै पक्ष संग आग्रह र प्रतिबद्धता संकलन गरिने उनको भनाई छ ।
साथै उक्त कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रिय अपाङ्ग महासघ नेपाल सुदूरपश्चिम प्रदेशले २५ हजार रुपैयाँ, परिलक्षित सस्थाले १५ हजार रुपैयाँ र राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्वन केन्द्र कोसिसैले ५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता बैठकमा गरेका थिए ।





