आज लागुऔषध दुरुपयोग तथा अवैध तस्करी विरुद्धको दिवस
नेपालमा लागुऔषध प्रयोगकर्ता कूल जनसंख्याको झण्डै ०.४८ प्रतिशत





काठमाडौं, १२ असार- आज (शनिबार) लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै छ ।


संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।



नेपालमा यस वर्ष ‘लागुऔषध रहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजना सहित विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘Share acts on Drugs, Save Lives’ तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै गइरहेको देखाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५.०६ प्रतिशत आंकलन गरिएको छ ।
नेपालमा लागुऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षण अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४ सय २४ पुगेको आँकलन छ जुन कूल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो । लागुऔषध कारोबारले अकालमै ज्यान जाने, अपराध र अराजकता बढाउनुका साथै एचआईभी, हेपाटाइटिस लगायतका रोगहरु पनि सर्ने गरेको छ ।



