अत्तरिया, ११ असार- कैलालीका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। जिल्लामा एक उप–महानगरपालिका, ७ नगरपालिका र ६ गाउँपालिका छन्।
धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिका तथा चुरे, मोहन्याल, कैलारी, जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिकाले निर्धारित समयमा आगामी आर्थिक वर्ष ०७८/७९ का लागि बजेट ल्याएका छन्।
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको प्रदेशकै एकमात्र उप–महानगरपालिका धनगढीले १ अर्ब ८१ करोड २८ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ।
उप–महानगरपालिकाले कोभिड-१९ व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद् व्यवस्थापन, कृषि, शिक्षा, रोजगारी, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट ल्याएको नगर उप–प्रमुख सुशीला मिश्रले बताइन्। उप–महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा चालू तर्फ १ अर्ब २ करोड ८० लाख ७० हजार र पूँजीगत तर्फ ७८ करोड ४७ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ।
धनगढी उप–महानगरपालिकासँग जोडिएको गोदावरी नगरपालिकाले १ अर्ब १८ करोड ७१ लाख ५७ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ। यो बजेट चालू आर्थिक वर्षको भन्दा झन्डै १० करोडले बढी हो। कुल बिनियोजित बजेटमध्ये चालू तर्फ ६६ करोड २२ लाख ९७ हजार (५५.७९ प्रतिशत) बजेट राखिएको छ। पूँजीगततर्फ ५२ करोड ४८ लाख ६० हजार (४४.२१ प्रतिशत ) बजेट राखिएको छ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार चिसापानीसंग जोडिएको लम्कीचुहा नगरपालिकाले १ अर्ब १० करोड २८ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ।
लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १० करोड २८ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ।
नगर प्रमुख महादेव बजगाईले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिका दिएको बताए। उनले आर्थिक विकासअन्तर्गत कृषि, पशुपंक्षी विकास, पर्यटन, सहकारी, भूमि व्यवस्थापन र वनका लागि ७ करोड ८२ लाख ८६ हजार बजेट विनियोजन गरिएको बताए।
कैलालीको पुरानो टीकापुर नगरपालिकाले ७५ करोड ८८ लाख ९५ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाले चालू तर्फ ४९ करोड ३३ लाख ६७ हजार र पूँजीगत तर्फ २६ करोड ५५ लाख २८ हजार रुपैयाँको व्यय अनुमान प्रस्तुत गरिएको छ। नगर उप–प्रमुख केशरी रावल विष्टले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कोभिड–१९ रोकथामका लागि ६१ लाख ८७ हजार र अन्य स्वास्थ्य कार्यक्रमका लागि ८२ लाख रुपैयाँ बजेट छ्टयाएको बताइन्। उनले टीकापुर अस्पतालमा बालरोग, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा र निशुल्क रक्तसञ्चार सेवा, ग्रामिण अल्ट्रासाउण्ड, पूर्ण खोप सुनिश्चित, आमासँग उपमेयर, हाम्री छोरी प्यारी छोरी कार्यक्रमलाई निरन्तरता दिएको बताइन्।
कैलालीको मध्यभागमा रहेको घोडाघोडी नगरपालिकाले ८९ करोड ९९ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट ल्याएको छ। नगर प्रमुख ममतप्रसाद चौधरीले कुल बजेटको ४३।४२ प्रतिशत बजेट पूर्वाधारमा विनियोजन भएको बताए।
चौधरीले नगरले स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै कुल बजेटको सबैभन्दा बढी ४३।४२ प्रतिशत बजेट पूर्वाधार विकासमा विनियोजन गरिएको छ भने सबैभन्दा कम वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा २।७६ प्रतिशत बजेट विनियोजन गरिएको बताए।
गौरीगंगा नगरपालिकाले ७९ करोड ७० लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ। नगर उप–प्रमुख अञ्चला चौधरीले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन्।
भजनी नगरपालिकाले ढिलो गरी शुक्रबार मात्र ल्याएको बजेट ६२ करोड ९७ लाख ६५ हजार रहेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याएको बताए। उनले आगामी बर्षमा नगर क्षेत्रमा ५० शय्याको कोभिड अस्पताल स्थापना गर्ने गरी बजेट विनियोजित भएको बताए। उनले विपद्लाई पनि प्राथमिकतामा राखेर कार्यविधि बनाएर राहतको प्याकेज अगाडि सार्ने बताए।
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ५ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ। जो भजनी नगरपालिकाको भन्दा बढी हो। उपाध्यक्ष लक्ष्मी सत्गौवाले पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा ३÷३ करोड, आर्थिक विकास क्षेत्रमा २ करोड २५ लाख, वन तथा विपद् व्यवस्थापनमा २ करोड र सुशासन तथा संस्थागत विकासमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइन्।
चुरे गाउँपालिकाले सडक र भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ४३ करोड ७० लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। उपाध्यक्ष दीपादेवी साउँदले चालू तर्फ २४ करोड ३४ लाख १० हजार र पुँजीगत तर्फ १९ करोड ३६ लाख रुपैयाँ व्यय अनुमान गरिएको बताइन्।
जोशीपुर गाउँपालिकाकाले ५२ करोड ५ लाख ६८ हजार रुपैयाँको बजेट ल्याएको छ। उपाध्यक्ष गीता कठरियाले पूर्वाधार विकासमा गाउँसभाको आगामी बैठकमा विनियोजन गर्नेगरी आर्थिक विकासमा ६० लाख, सामाजिक विकासमा १ करोड ६३ लाख, संस्थागत विकासमा ७ करोड ८४ लाख २० हजार बजेट विनियोजन गरिएको बताइन्।
बर्दगोरिया गाउँपालिकाले ४४ करोड ७० लाख ९० हजार रुपैयाँको डल्लो बजेट ल्याएको छ। उपाध्यक्ष भगवती डगौरा थारुले आम्दानीको स्रोत र व्ययको अनुमान मात्रै गाउँ सभामा प्रस्तुत गरिएको बताइन्। उनले गाउँ सभाबाट योजनाहरुमा बजेट बाँडफाँट गरिने बताइन्।
मोहन्याल गाउँपालिकाले ४५ करोड ५८ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ। कार्यबाहक अध्यक्ष पूजा बुढामगरले आर्थिक विकासमा १ करोड २० लाख, पूर्वाधार विकासमा १ करोड ९ लाख ९१ हजार, सामाजिक विकासमा ३ करोड २५ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा २५ लाख, सुशासन र संस्थागत विकासमा २० लाख, लैंगिक तथा समाबेशीकरणमा २० लाख बजेट विनियोजन गरेको बताइन्।
जानकी गाउँपालिकाले ७९ करोड ३ लाख ५ हजारको बजेट ल्याएको छ। उपाध्यक्ष उमा महतोले गाउँपालिकाको चालू तर्फ ४५ करोड २२ लाख ९१ हजार ५ सय २१ र पुँजीगततर्फ ३३ करोड ८० लाख १३ हजार ४ सय ४८ रुपैयाँ रहेको बताइन्। उनले कृषि र स्वास्थ्यमा १÷१ करोड, पशु सेवामा ७० लाख, शिक्षामा ६० लाख, विपत् व्यवस्थापनमा १० लाख बजेट विनियोजन गरेको बताइन्।