सुदूर पहाडलाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग १ सातापछि सञ्चालनमा

डडेलधुरा– सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला र तराईका २ जिल्ला जोड्ने एकमात्रै सडक, भीमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको १ सातापछि सञ्चालमा आएको छ। कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाको डाँडामा गत सोमबार गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो।

ठाउँ–ठाउँमा पहिरो जाँदा सडकमाथि लेदो थुपारिएको थियो। यस्तै, पहिरोले पहाड नै खसेपछि ५०० मिटरजति सडक भासिएको थियो। अहिले नयाँ ट्र्याक खोलेर सडक सञ्चालन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Navadurga sun

लगातारको वर्षाका कारण नयाँ खोलिएको ट्रयाकमा समेत सवारीका साधन सञ्चालनमा समस्या आएको थियो। ट्रयाकमा ढुंङ्गा विछ्याएपछि सोमबारदेखि साना सवारीका साधनहरु गुडाउन सुरु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

सडक सुचारु भएसंगै तराईबाट पहाड र पहाडबाट तराईका लागि यातायातका साधनहरु चल्न थालेका छन्। अहिले १० चक्के ट्रक सम्मलाई आवतजावत गर्न दिइएको छ भने त्यो भन्दा ठूला सवारी साधनमा रोक लगाइएको छ।

सडक सुचारु भए पनि बर्षाका कारण जोखिम भने कायमै रहेको छ। बुढीतोला क्षेत्रमा पहिरोको जोखिम रहेकाले सडक अवरुद्ध हुन सक्ने बताइएको छ। नयाँ खोलिएको ट्रयाक पनि हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा भने समस्या नै रहेको बताइएको छ। एकसातापछि राजमार्ग सञ्चालनमा आएपछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यातायातको सम्पर्क स्थापित भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...