भीमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध, पहाडी जिल्लामा खाद्यान्न अभाव

धनगढी- भिमदत्त राजमार्ग पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध  छ। कैलालीको गोदावरी–४ भावरमा सोमवार रातिको पहिरोले बगाएपछि अवरुद्ध सडक खुलाउन निरन्तरको वर्षा बाधक बनेको छ।

वर्षा नरोकिएका कारण सडक सुचारु गर्न नसकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए। “पाँच वटा मेसिन लगाएर निरन्तर काम गरिरहेका छौँ। तर, पानी र पहिरो नरोकिएकाले समस्या भएको छ,” उनले भने, “आइतबारसम्म साना सवारी एकतर्फी रूपमा चलाउन सकिन्न कि भन्नेछ।” पहिरोले पुरेको ४०० मिटर सडक पन्छाइसकिएको र सडक नै बगाएको १०० मिटरमा काम भइरहेको सुवेदीले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिमको ‘लाइफलाइन’का रूपमा रहेको सडक ठप्प हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लामा खाद्यान्न, औषधी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको स्थानीय प्रकाश देउवाले बताए। ती जिल्लामा उत्पादित गोलभेँडा, काउली, आलु, सिमी, बन्दालगायत तरकारीलाई तराईका बजार पुर्‍याउन समस्या भएको छ।

अत्यावश्यक कामले झर्ने यात्रु र बिरामी बोकेका एम्बुलेन्स बुढीतोलासम्म पुग्ने गरेका छन्। त्यहाँबाट बिरामीलाई स्ट्रेचरमा राखेर पहिरो क्षेत्र पार गराउने गरिएको देउवाले बताए।

राजमार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बाजुराको बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले बताए। “जिल्लाको एउटा मात्रै विमानस्थल (कोल्टी) पनि १२ बजेसम्म मात्र सञ्चालन गरिएको छ। त्यसपछि कोही बिरामी पर्‍यो भने अस्पताल पुर्‍याउन समस्या भइरहेको छ,” उनले भने, “राजमार्ग बन्द हुँदा खाद्यान्न कालोबजारी र महँगी बढेको छ। कतिपय स्थानमा अभाव नै हुन थालेको छ। एक–दुई दिनभित्र यातायात सुचारु नभए धेरै ठाउँमा समस्या हुन्छ।”

सडक कार्यालयका प्रमुख सुवेदीका अनुसार सडक विभागबाट पहिरो विशेषज्ञसहितको टोलीसमेत पहिरोस्थलमा पुगेर अध्ययन गरिरहेका छन्। “उक्त क्षेत्रमा पहिले पनि ठूलो पहिरो गएर बस्ती बसेको रहेछ। र, साउन २२ गते सो स्थान आसपास मात्रै मेघगर्जन र चट्याङसहित भारी वर्षा भएछ,” सुवेदीले भने, “त्यसैले पहिरोले धेरै क्षति गर्‍यो।”

 

Loading...