सुदूरपश्चिमका १३ स्थानीय तहले अझै ल्याएनन् बजेट

डोटी- सुदूरपश्चिमका १३ वटा स्थानीय तहहरुले अझै पनि आर्थिक वर्ष २०८०/०८१ को बजेट विवरण प्रविष्ट गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) अनुसार स्थानीय तहहरुले असार १० गतभित्र आगामी आर्थिक बर्षको आय व्यय अनुमान (बजेट) सभामा पेश गरिसक्नु पर्ने व्यवस्था भएपनि ति पालिकाले बजेट पेश गरेका छैनन् ।

सोमवार साँझ ५ वजेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट विवरणअनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये १३ ले अझै बजेट प्रविष्ट गरेका छैनन् । वेबसाइटमा विवरण पेश नगरेपछि ति पालिकाहरुको बजेट सभामा पेश नभएको देखिएको हो ।

Navadurga sun
Godawari sandesh

कैलालीका गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिकाले विवरण पेश गरेका छैनन् । यस्तै, डोटीका के आई सिंह र सायल गाउँपालिका, अछामको मेल्लेख गाउँपालिका, बाजुराको बडीमालिका नगरपालिका र बाजुराको स्वामिकार्तिक गाउँपालिकाले बजेट पेश गरेका छैनन् ।

बजेट पेश नगर्नेमा बझाङ्गको थलारा गाउँपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका, बैतडीका दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकाले सभामा बजेट पेश गरेको देखिदैन । डडेल्धुराको पर्शुराम नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि सभामा बजेट पेश गरेका छैनन् ।

चार पालिकाले समयमै स्वीकृत गरेन बजेट

ऐनको दफा ७१ (६) अनुसार सभाले असार मसान्तभित्र बजेट स्वीकृत गरिसक्नु पर्ने व्यवस्था छ । तर चार स्थानीय तहले समयमै वजेट स्वीकृत नगरेको मन्त्रालयको वेबसाइटले देखाउँछ ।

Dadeldhura hospital

डोटीको बडीकेदार गाउँपालिका, अछामको मंगलसैन नगरपालिका, अछामकै बान्नीगढी जयगढ गाउँपालिका र दार्चुलाको महाकाली नगरपालिकाले तोकिएको समयमा वजे स्वीकृत गरेका छैनन् ।

मन्त्रालयले सोमवार स्थानीय तहहरुलाई पत्राचार गर्दै सभाबाट वजेट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको छ ।

‘सभामा पेश भएको तथा सभाबाट पारित भएको बजेटको विवरण यस मन्त्रालयको पोर्टलमा यथासिघ्र अद्यावधिक गर्न अनुरोध गरिएकोमा अझै कतिपय नगररगाउँपालिकाबाट पोर्टलमा अद्यावधिक नगरेको पाईएकोले उक्त बिवरण अद्यावधिक गर्न हुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।

बजेट पेश भएकै दिन पारित

गाउँसभा र नगरसभा (कार्य सञ्चालन) ऐन, २०७५ का दफा ६५ को उपदफा (३) अनुसार सभामा बजेट पेश भएको दिन त्यसमा छलफल गर्न नहुने उल्लेख छ ।

तर, सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ४४ स्थानीय तहहरुले सभामा बजेट पेश भएकै दिन पारित भएको बिवरण मन्त्रालयको वेबसाइटको पोर्टलमा पेश गरेका छन् ।

कञ्चनपुरका ६, डडेल्धुराका चार, बैतडीका चार र दार्चुलाका ६ स्थानीय तहहरुले वजेट पेश भएकै दिन पारित गरिएको भनी मन्त्रालयको पोर्टलमा विवरण प्रविष्ट गरेका छन् ।

यस्तै, बझाङ्गका पाँच, बाजुराका पाँच, अछामका चार, डोटीका तीन र कैलालीका सात स्थानीय तहहरुले पनि सभामा पेश भएकै दिन बजेट पारित गरेका छन् ।

Loading...