
काठमाडौँ- प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली लागेर घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीको स्वास्थ्यमा जटिलता देखिएपछि बुधबार दिउँसो नेपाल प्रहरी अस्पतालको सघन उपचार कक्ष९आईसीयू०मा भर्ना गरिएको छ ।

आफ्नो माग सुनुवाइ नभएपछि २१औं दिन पनि अस्पताल शय्यामै अनशन जारी राखेका छन् । माग सुनुवाइ नभएसम्म अनशन जारी राख्ने जैसीको अडान छ ।


उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलमा अनशन बसेका थिए । अनशनरत जैसी १२औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । अनशनकै क्रममा पटक-पटक बिरामी भएर अस्पताल भर्ना हुँदा समेत उनको माग सुनुवाइ गर्न सरकारले ध्यान दिएको छैन ।
सात वर्षअघि काठ तस्कर र प्रहरीबीच भएको झडपमा प्रहरीलाई बचाउँदा गोली लागेर घाइते उनले आफ्नै खर्चमा उपचार गराएका थिए । सरकारले उपचार खर्च व्यहोर्ने आश्वासन दिए पनि उचित क्षतिपूर्ति नपाएको भन्दै अनशन बसेका हुन् ।
डेढ महिना उपचार गर्दा जैसी परिवारको करिब पाँच लाख खर्च भएको थियो । त्यसबेला गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलायो । तर निरन्तर ‘फलोअप’ गरिरहनुपर्ने हुँदा आर्थिक भार थपिएको, थप खर्च जुटाउन धौधौ परिरहेको छ ।
उचित स्वास्थ्योपचार नपाएर उनको स्वास्थ्य स्थिति पनि कमजोर बन्दै गएको छ । पटक–पटक गृह मन्त्रालयमा ताकेता गर्दासमेत नपाएपछि अनशन बस्न बाध्य भएको जैसीले बताए ।