गेटाबारे मुख्यमन्त्री शाह : विश्वविद्यालय बनाउने प्रतिवद्धता

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम प्रदेशका आम नागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानुनी र अन्य व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन् । गेटालाई प्रतिष्ठान बनाउन लागिएको भन्दै सुदूरपश्चिममा लगातार विरोध र प्रदर्शन भएपछि मुख्यमन्त्री शाहले गेटाबारे मुख खोलेका हुन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहले सुविधा सम्पन्न अस्पताल सहितको स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षाको केन्द्रको रूपमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र विकासको कार्यमा शीघ्रताका लागि नेपाल सरकारसँग विशेष अनुरोध गर्दै आम सुदूरपश्चिमवासी नागरिकको माग, चाहना र आवश्यकता पूरा गर्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

Navadurga sun

‘गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिङ्गो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रूपमा विकास हुनुपर्छ भन्ने हामी सबैको चाहना हो’, मुख्यमन्त्री शाहले भनेका छन्, ‘हाम्रा माग र चाहना बमोजिम नै नेपाल सरकारले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनी प्रक्रिया अघि बढाएको पनि हामी सबैलाई स्मरण नै छ ।’

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विश्वविद्यालय विधेयक चालू अधिवेशनमा नै प्रस्तुत गर्ने भनी उल्लेख भएकोमा वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भएपछि अस्पष्टता सिर्जना हुन पुगेकोमा सुदूरपश्चिम प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि मुख्यमन्त्री शाहको भनाइ छ । यस विषयमा नेपाल सरकारका जिम्मेवार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निरन्तर संवाद र सम्पर्क गरिरहेको मुख्यमन्त्री शाहले जनाएका छन् ।

‘संवादका क्रममा उहाँहरूबाट उक्त अस्पष्टता हटाई गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम प्रदेशका आम नागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानुनी र अन्य व्यवस्था मिलाइने विश्वास दिलाउनु भएको छ’, शाहले प्रस्ट पार्ने प्रयास गरेका छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...