कैलालीमा कर्नीले हानेर साथीको हत्या गर्ने एक जना पक्राउ




धनगढी, २६ जेठ- कैलालीमा आफ्नै साथीलाई कर्नीले हानेर हत्या गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नं. ४ के गाउँका ३९ वर्षीय सोम बहादुर बस्नेत पक्राउ परेका हुन् ।


ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँस्थित बिरेन्द्र सामुदायीक वनमा लुकिछिपी बसेको उनलाई पक्राउ गरेको हो ।



उनले गत २४ गते सोमबार लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरस्थित पदम बहादुर बुढा क्षेत्रीको मिनि पक्की घरमा बिगत १ महिना देखी डेरा कोठा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने धनगढिका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पदमको टाउँकोको पछाडी घाउँ चोट रहि मृत अवस्थामा फेलापरेको थियो । घटना अनुसन्धान गर्दै जाने क्रममा घटनापश्चात भागी फरार भएका उनीसँगै डेरा कोठामा बस्ने सोम बहादुरलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा २३ गते आइतबार बेलुकी मृतक बिशाल बुढाथोकीसंगै सोम बहादुर बस्नेतले स्थानीय बजार र सोहि डेरा कोठामा बसि घरेलु मदिरा सेवन गरी दुबै जनाबीच बादविवाद हुदाँ घरकोठामा रहेको फलामको कर्नीले टाउँकोमा हिर्काएको प्रहरीले जनाएको छ । सोही चोटका कारण बिशाल बुढाथोकीको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।
घटनास्थलबाट कर्नी समेत बरामद गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ भने मृतकको हाल सम्म एकिन पहिचान खुल्न नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।



