अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रमको मिति परिवर्तन गरिएको छ। वडा कार्यालयले सूचना जारी गर्दै विजयादशमीका कारण नियमित खोप कार्यक्रमको मिति परिवर्तन गरिएको जनाएको हो।
वडा कार्यालयका अनुसार बालबालिकालाई प्रत्येक महिनाको ३ र ४ गते लगाउँदै आएको नियमित खोप कार्यक्रम उक्त दिन हिन्दुहरूको महान् चाड विजयादशमी परेकाले अन्य मितिमा सञ्चालन गरिने भएको छ।



वडा कार्यालयले जारी गरेको सूचनाअनुसार नियमित खोप कार्यक्रम २०८३ साल कात्तिक ९ गते र १० गते सञ्चालन हुनेछ। खोप कार्यक्रम क्रमशः दमौरा र खमौरामा साविककै स्थान र समयमा सञ्चालन गरिने सूचनामा उल्लेख छ।
वडा कार्यालयले सम्बन्धित सरोकारवाला तथा सम्पूर्ण वडावासीलाई परिवर्तित मिति, समय र स्थानबारे जानकारी गराउँदै बालबालिकालाई नियमित खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ।
वडा अध्यक्ष रविन्द्र शाहीद्वारा हस्ताक्षरित सूचनामा खोप कार्यक्रमसम्बन्धी थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

