काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ। देवीका मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ।
काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, मैतीदेवी, दक्षिणकाली, गुह्येश्वरीलगायत शक्तिपीठहरूमा भक्तजनहरू लामबद्ध भएर पूजा आराधना गरिरहेका छन्। मन्दिर जान नसक्ने भक्तजनहरूले आफ्नै दसैँघर तथा पूजाकोठामा देवीको पूजा आराधना गर्ने गरेका छन्।

धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार हिन्दू धर्मग्रन्थमा कात्यायनी देवीलाई साहस र शक्तिको प्रतीकका रूपमा वर्णन गरिएको छ। यज्ञ, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुरी प्रवृत्तिका राक्षसहरूबाट उत्पन्न हुने विघ्नबाधा हटाउन देवी कात्यायनीको अवतरण भएको धार्मिक मान्यता रहेको छ।
कात्यायनी देवीको उपासनाबाट रोग, शोक, सन्ताप र भय नष्ट हुने धार्मिक विश्वास रहेको डा. शास्त्री बताउँछन्।
कात्यायनी देवीको पूजा विधि
कात्यायनी देवीको पूजा गर्नुअघि कलश तथा त्यसमा आह्वान गरिएका देवीदेवताको पूजा गरिन्छ। त्यसपछि देवीका परिवारमा समावेश देवीदेवताहरूको पूजा गरी कात्यायनी देवीको आराधना गर्ने परम्परा छ।
पूजा सुरु गर्दा हातमा फूल लिएर देवीलाई प्रणाम गर्दै ध्यान मन्त्र जप गरिन्छ। देवीको पूजा सम्पन्न गरेपछि महादेव तथा अन्य देवीदेवताको पूजा गर्ने धार्मिक विधि रहेको छ। त्यसैगरी भगवान् विष्णुको पूजा देवी लक्ष्मीसहित गरिन्छ।
कात्यायनी देवीको ध्यान मन्त्र
वन्दे वाञ्छित मनोरथार्थ चन्द्रार्घकृत शेखराम्।
सिंहारूढा चतुर्भुजा कात्यायनी यशस्वनीम्॥
स्वर्णाआज्ञा चक्र स्थिता षष्ठं दुर्गा त्रिनेत्राम्।
वराभीत करां षड्पदधरां कात्यायनसुतां भजामि॥


पटाम्बर परिधानां स्मेरमुखीं नानालङ्कार भूषिताम्।
मञ्जीर, हार, केयूर, किङ्किणी रत्नकुण्डल मण्डिताम्॥
प्रसन्नवदनां पञ्वाधरां कान्तकपोला तुङ्गकुचाम्।
कमनीयां लावण्यां त्रिवलीविभूषित निम्ननाभिम्॥
कात्यायनी देवीको स्तोत्र पाठ
कञ्चनाभा वराभयं पद्मधरा मुकुटोज्ज्वलाम्।
स्मेरमुखीं शिवपत्नी कात्यायनसुते नमोऽस्तुते॥
पटाम्बर परिधानां नानालङ्कार भूषिताम्।
सिंहस्थितां पद्महस्तां कात्यायनसुते नमोऽस्तुते॥
परमानन्दमयी देवि परब्रह्म परमात्मा।
परमशक्ति, परमभक्ति, कात्यायनसुते नमोऽस्तुते॥
कात्यायनी देवीको स्वरूप
धार्मिक ग्रन्थहरूमा कात्यायनी देवीको स्वरूप अत्यन्त दिव्य र सुनजस्तै चम्किलो रहेको वर्णन गरिएको छ। सिंहलाई आफ्नो वाहन बनाउनुभएकी देवीका चार हात छन्। तीमध्ये एक हात अभय मुद्रामा र अर्को वरद मुद्रामा रहेको हुन्छ। बाँकी दुई हातमध्ये एउटामा तरबार र अर्कोमा कमलको फूल रहेको धार्मिक वर्णन पाइन्छ।
नवरात्रका नौ दिनमा नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुसार छैटौँ दिन कात्यायनी देवीको पूजा गरिन्छ। भक्तजनहरूले श्रद्धापूर्वक देवीको आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्ने गर्दछन्।
