अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० ले आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार आयोजित वडाको सातौँ वडा भेलामा वडासचिव हिक्मत साउँदले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।






आगामी आर्थिक वर्षका लागि वडाले ९४ लाख १५ हजार ७ सय १५ रुपैयाको बजेट सार्वजनिक गरेको छ । वडासचिव साउँदले नगरले पठाएको बजेट सिलिङको आधारमा वडामा माग भई आएका योजनाहरु प्राथमिकतामा राखिएको बताएका छन । उनले नगरबाट वडाको लागि छुट्याईएको बजेटमध्ये सबैभन्दा बढी भौतिक पुर्वाधार विकासतर्फ विनियोजन गरिएको बताए ।
वडाले भौतिक पुर्वाधार विकासतर्फ कुल बजेटमध्ये ४२ लाख रुपैया विनियोजन गरेको छ । जस अन्तरगत वडाभरीका आवश्यक ठाउँमा ग्राभेल, धर्मसंस्कृतिको संरक्षण गर्न मठमन्दिर निमाण, ढलनिकास तथा तटबन्धन, अति आवश्यक ठाउँमा खानेपानी तथा सिँचाई लगायतका योजनाहरु समावेश गरिएका छन । त्यसैगरी सामाजिक विकास तर्फ वडाले १७ लाख ५० हजार रुपैया विनियोजित गरिएको छ ।

जसअन्तरगत शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । त्यतिमात्रै नभई लक्षित वर्गहरुका व्यक्तिका लागि तथा युवाहरुका लागि आवश्यक योजनाहरु समावेश गरिएका छन ।
त्यस्तै आर्थिक विकासतर्फ २३ लाख बजेट छुट्याईएको छ । जसअन्तरगत कृषकहरुका लागि कृषि उपकरण, गरिब विपन्न परिवारका लागी आयआर्जन सम्बन्धीका योजनाहरु तथा युवायुवतीहरुलाई सिपमुलक तालिमका योजनाहरु समावेश गरिएका छन । वडाले विपद् व्यवस्थापन तर्फ ५ लाख ६५ हजार ७ सय १५ र सार्वजनिक सेवा तथा कार्यालय सञ्चालनका लागि ६ लाख छुट्याईएको छ ।
वडा भेलामा वडाले चालु आर्थिक वर्षमा गरेका कामहरुका बारेमा समेत जानकारी गराईएको थियो । चालु आर्थिक वर्षमा २२ वटा शुद्ध खानेपानीका समरसियल बोरिङ्ग, भागेश्वर टोलमा सिँचाई टंकी निर्माण, करिब २५ सय घनमिटर तटबन्धन, २ हजार २ सय मिटर कालोपत्रे लगायतका योजनाहरु सम्पन्न गरेको वडाध्यक्ष रविन्द्र शाहि गुड्डुले जानकारी दिए ।

उनका अनुसार वडाले चालु आर्थिक वर्षमा अन्य विभिन्न योजनाहरु सम्पन्न गरिसकेको छ । आगामी आर्थिक वर्षमा पनि वडाबासीका माग अनुसारका योजनाहरुलाई प्राथमिकतामा राखि अगाडी बढाईने शाहीले बताए ।

