शुक्लाफाँटा निकुञ्जका विस्थापित पीडितका समस्या समाधानका लागि प्रधानमन्त्रलाई ज्ञापन पत्र

कञ्चनपुर- कञ्चनपुरको तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिले राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितका समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पीडित लगायत यस क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधामन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारको तर्फबाट अविलम्ब पीडितलाई क्षतिपूर्ति सहितको व्यवस्थापन गर्न अधिकार सम्पन्न आयोग बनाइ वा हाल बनेको आयोगलाई अधिकार दिन ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ । परिवारको आकारका आधारमा कम्तीमा खान पुग्ने गरि जग्गा उपलब्ध गराउन ज्ञापन पत्रद्धारा माग गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सरकारले जग्गा उपलब्ध गराउन नसके परिवार संख्या अनुसार खान पुग्ने गरि जमिन खरिद गर्न हाल चलन चल्तीमा रहेको दररेटको आधारमा नगद रकम नै उपलब्ध गराउन समेत माग गरिएको छ ।

उक्त ज्ञापन पत्रमा पीडित परिवारलाई जीवन निर्वाह गर्न परेको कठिनाइ ध्यानमा राखि रोजगारीको व्यवस्था गरिदिने पनि माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुकुम्बासीको समस्या सामाधानका लागि यस बिषयमा गहन छलफल गरेर चाडैं समाधान गर्नतिर लाग्ने आश्वासन दिएका छन ।

दुई दशक बितिसक्दा पनि राष्ट्रिय निकुञ्जबाट विस्थापित पीडितले स्थायी समाधान पाएका छैनन् । सरकारले विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष ( अहिले राष्ट्रिय निकुञ्ज ) विस्तारका क्रममा यहाँ बस्ती विस्थापित गरेको थियो । विभिन्न चरणमा विस्थापितलाई जग्गा दिएर पुनर्स्थापना गरे पनि अझै सयौं विस्थापित घरबारविहीन रहेका छन् ।

पीडितलाई सम्बोधन गर्न सरकारले अहिलेसम्म अढाइ दर्जन आयोगसमेत बनाइसकेको भए पनि उक्त समस्याको समाधान हुन सकेको छैन । पीडितले कहिल्यै राजमार्ग बन्द त कहिल्यै प्रशासनमा धर्ना, जुलुस गरेर त कहिले ज्ञापनपत्र बुझाउदै दबाब दिँदै आएका छन् ।

Loading...