राष्ट्रपति निर्वाचन: आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं– राष्ट्रपति निर्वाचनका लागि आज (शुक्रबार) अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक हुन लागेको हो।

निर्वाचन आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो। सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय तोकिएको थियो। निर्वाचन आयोगका अनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म ५ वटा निवेदन परेको थियो।

Navadurga sun
Godawari sandesh

ती निवेदनमा ४ वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए। मतदाता नामावलीमा दाबी विरोधका लागि बिहीबार मध्याह्न १२ बजेसम्मको समय तोकिएको थियो।

Dadeldhura hospital

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ। यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्‌को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्‌का ३ जना सांसद बाहेकको नाम थियो।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाताको नाम सार्वजनिक भएको थियो। जसमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम थिएन्।

प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन्। त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् लक्ष्मण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा उनीहरुको नाम थिएन।

तर, सांसद चौधरीले ट्याक्टर जलाएको मुद्दामा तोकिएको ६ महिनाको कैद सजायमा माफी पाइसकेपछि उनको निलम्बन फुकुवा भइसकेको छ। जसकारण उनको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने भन्दै निवेदन परेको हो। नेपालको तेस्रो राष्ट्रपति चयनका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ।

Loading...