

काठमाडौं- बाँके प्रहरीले नक्कली नोटसहित पक्राउ गरेका तीन जनालाई सार्वजनिक गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४, न्यूरोडबाट ५ लाख ६९ हजार रुपैयाँ नक्कली नोटसहित बाँके कोहलपुरका मोहन कुमाई, सल्यान बनगाडका मोहन राना र तुर्माखाद अछामका दिपक विसीलाई पक्राउ गरेको थियो ।



बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र बाँके प्रहरीले उनीहरूलाई नोटसहित पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका व्यक्तिले नक्कली नोट कहाँबाट छापेर ल्याए ? कसरी ल्याए ? कति सटही गरे ? भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता घर्तीमगरले बताए ।


नेपालगञ्जमा केही दिनअघि नक्कली नोट छाप्ने मेसिनसहित केही रकम बरामद भएको थियो । यी घटनालाई हेर्दा बजारमा नक्कली नोट छ्याप्छ्याप्ती रहेको आशंका गरिएको छ ।
यसैबीच, प्रहरीले ५० ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका तीन जनालाई पनि बिहीबार सार्वजनिक गरेको छ । माघ २६ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं १, वाटरपार्कबाट पक्राउ परेका रुकुम पश्चिम सानोभेरीका तिलक डाँगी, सोविराम केसी र विनोदकुमार गौतमलाई प्रहरीले सार्वजनिक गरेको हो ।





