

कञ्चनपुर, २९ माघ– कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कम्लहरी तथा मुक्त कमैयालाई तरकारीको बिउ तथा कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।


आइतबार नगरपालिकाको कृषि शाखामा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले सयुंक्त रूपमा कृष्णपुर नगरपालिकामा रहेका कम्लहरी तथा मुक्त कमैयाहरुलाई ६ प्रकारका बेमौसमी तरकारीको बिउ, सिचाइको लागि १ थान हजारी र १ थान इलेक्ट्रीक स्प्रे हस्तान्तरण गरिएको हो । नगरपालिकाको कृषि शाखाले तालिममा सहभागी हुने इच्छुक कम्लहरी तथा मुक्त कमैयालाई २१ दिने सूचना जारी गरेको थियो ।



त्यसै सूचनाका आधारमा २१ दिनसम्म वडा न ३ र ६ का १ दर्जन कम्लहरी तथा मुक्त कमैयाहरुले आवेदन दिएका थिए । आवेदन दिएका तिनै कम्लहरी तथा मुक्त कमैयाहरु आइतबार तरकारी खेती सम्बन्धि तालिममा सहभागी समेत भएका थिए ।
तरकारीको बीउ तथा कृषि सामाग्री हस्तान्तरणपछि नगरप्रमुख हेमराज ओझाले कम्लहरी तथा मुक्त कमैया दाजुभाइ तथा दिदीबहिनीहरुको जीवन स्तर माथि उकास्न आफुले सक्दो प्रयास गरिरहेको बताए । नगरप्रमुखले कम्लहरी तथा मुक्त कमैयाहरुले व्यवसायीक तरकारी खेती गर्न चाहे नगरपालिका बीउ र मलखादमा अनुदान एवं सिचाइ तथा बजारीकरणमा सहयोग गर्न तयार रहेको बताए ।
नगरपालिका अधिकांश नागरिक कृषिमा निर्भर रहेका तर व्यवसायीक भन्दा निर्वाहमुखी मात्र भएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायीक कृषि खेतीमा अगाडि बढ्नुपर्ने नगरप्रमुख ओझाले बताए । उनले किसानले दुख गरेर तरकारी उत्पादन गर्ने तर लागत अनुरुपको उपयुक्त मुल्य नपाउने गरेको भन्दै आफू नगरपालिकाका सम्पुर्ण किसानको समस्यालाई मध्यनजर गर्दै कोल्ड स्टोर निर्माणको तयारीमा लागेको बताए ।