

अत्तरिया- कञ्चनपुरको दुई स्थानीय तह कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाले छाडा पशु चौपायाको व्यवस्थापन संयुक्त रूपमा गर्ने गरी छलफल कार्य अगाडी बढाइएको छ । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना बिच सोमबार नगरप्रमुख ओझाको कार्यकक्षमा छलफल गरिएको हो ।


छलफलमा कृष्णपुर नगरपालिकाको वडा न ३ र लालझाडी गाउँपालिकाको वडा न ५ को भुबनोट जोडिएको र ती दुई वडामा छाडा पशु चौपाया व्यवस्थापनमा समस्या भैरहेको हुँदा दुवै स्थानीय तहले सयुंक्त रूपमा खर्च व्यहोर्ने गरी छलफल अगाडि बढेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए ।




नगरप्रमुख ओझाले भौगोलिक बनावट जोडिएका दुवै स्थानीय तहबिच आपसी समन्वय गरेर मात्र छाडा पशु चौपायाको व्यवस्थापन राम्रोसँग गर्न सकिने भएकोले आफुले छलफल अगाडि बढाएको बताएका छन् । पशु चौपायाको व्यवस्थापन सँगै आगामी दिनमा विकास निर्माणदेखि अन्य कार्यमा पनि लालझाडी गाउँपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने नगरप्रमुख ओझाले बताए ।
हाल कृष्णपुरले वडा न १ को एक स्थान, वडा न २ को दुई स्थान, वडा न ४ र ५ को एक/एक स्थानमा छाडा पशु चौपायाको अस्थायी व्यवस्थापन गरिएको छ भने वडा ७, ८ र ९ लाई लक्षित हुने गरि वडा न ८ मा अस्थायी गौशाला निर्माणको चरणमा रहेको छ ।
उक्त छलफलमा कृष्णपुर नगरपालिकाका कार्यकारी प्रमुख शिवसिंह भण्डारी, सूचना अधिकारी प्रेम बोगटी र कृष्णपुर नगरपालिका वडा न ३ का अध्यक्ष खेम चौधरी एवं लालझाडी गाउँपालिका वडा न ५ का अध्यक्ष पहल बहादुर थापाको उपस्थिति रहेको थियो ।