बाजुरामा गोदामको मौज्दात चामल सकियो

बाजुरा- कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए। कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल बिक्री भइसकेको छ। निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामलसमेत सकिएको प्रमुख ओझाले जानकारी दिए।

खाद्यमा चामल सकिएको दुुई दिन भएको र अहिले बिक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गरे। जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामलमात्र रहेको र सर्वसाधारणलाई बिक्री गर्न मौज्दात चामल नभएको उनले बताए।

Navadurga sun

सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ। साँफे–मार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले जानकारी दिए।

खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ। संस्थानले मोटो चामल प्रतिकिलो रु ४५ र जिरा मसिनो प्रतिकिलो रु ६६ मा बिक्री गर्दै आइरहेको थियो।

कोल्टी र कवाडीमा चामल यथावत्

जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको कोल्टी शाखा र बिक्री केन्द्र कवाडीमा भने चामलको मौज्दात यथावत् रहेको शाखाले जनाएको छ। कोल्टीमा खाद्य संस्थानमा हाल एक हजार १०० क्विन्टल चामल बिक्री नभएको शाखाप्रमुख नवीन आचार्यले बताए।

निषेधाज्ञामा चामल अभाव नहुने आचार्यको भनाइ छ। अहिले एक हजार १०० क्विन्टल यथावत् छ भने ९० क्विन्टल सुर्खेतबाट आइसकेकाले कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले जानकारी दिए।

यस्तै हिमाली गाउँपालिकाको कवाडीमा समेत चामल मौज्दात रहेको शाखाप्रमुख आचार्यले बताए। कोल्टीबाट कवाडीका लागि एक हजार क्विन्टल पठाइसकेकाले केही मौज्दात रहेको आचार्य बताउछन्।

खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा चामलका लागि धाइरहेका छन्। खुलेआम कालोबजारीभन्दा पनि व्यापारीले अघोषितरुपमा चामलमात्र नभई दैनिक उपभोग्य सामानमा कालोबजारी गरिरहेको नागरिक समाजका अगुवा बताउछन्।

जिल्ला प्रशासन कार्यालयले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए। उनले कालोबजारी गरेको नभेटिएको उजूरी नआएकोे भए पनि बजारमा खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको मौखिकरुपमा जानकारी आउने गरेको जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले बजारमा खाने तेलको मूल्यभन्दा बढी मूल्य लिने पाँच व्यापारीलाई पक्राउ गरी कारबाही गरेको सहायक प्रजिअ भण्डारीले बताए। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...