नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवतलगायत देवी स्तोत्रको पाठ गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ। यही मान्यताका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।

Navadurga sun

नवरात्रका नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप जमरा र टीका लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउने गर्छन्।

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। यस अवसरमा काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा विशेष सजावट तथा दीपावली गरी झिलिमिली बनाइएको छ। शक्तिपीठहरूमा दर्शन र पूजाआराधनाका लागि भक्तजनको चहलपहल बढेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...