दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं- बडादशैंअन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै छ। घटस्थापना गरेसँगै सुरु हुने नवरात्रमा नवदुर्गाका नौवटै स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टा देवीको पूजा गर्न लागिएको हो।

धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको आराधना विशेषगरी वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकासका लागि गरिन्छ। आज विशेषगरी गीत–सङ्गीत क्षेत्रमा आबद्ध व्यक्तिहरूले चन्द्रघण्टा देवीको आराधना गर्ने परम्परा रहेको छ।

Navadurga sun

दशैं सुरु भएसँगै देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी लगायतका मन्दिरमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ।

त्यस्तै, उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना र दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ। यसैगरी चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।

धार्मिक ग्रन्थहरूमा चन्द्रघण्टा देवीलाई माता पार्वतीको सौन्दर्यपूर्ण तथा शक्तिशाली स्वरूपका रूपमा वर्णन गरिएको छ। देवीको शिरमा अर्धचन्द्राकार आभूषण रहेको र त्यो घण्टाजस्तो देखिने भएकाले उहाँलाई चन्द्रघण्टा भनिएको धार्मिक मान्यता छ।

श्रीमद्देवीभागवत लगायतका धार्मिक ग्रन्थहरूमा चन्द्रघण्टा देवीले क्रोध, हिंसा तथा आसुरी प्रवृत्तिको नाश गरी सज्जनको रक्षा गर्ने स्वरूप धारण गरेको उल्लेख छ। चन्द्रघण्टा देवीको पूजा–आराधनाले भक्तजनमा साहस, आत्मविश्वास र सकारात्मक भावनाको विकास हुने धार्मिक विश्वास रहिआएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...