सुदूरपश्चिमको बजेट अध्ययन गर्न ७ सदस्यीय संसदीय समिति गठन

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट पारित भए पनि त्यसको अध्ययन गर्न ७ सदस्यीय संसदीय समिति गठन गरिने भएको छ ।

सत्तारुढ दलभित्रै बजेटप्रति असन्तुष्टि देखिएपछि तत्काल बजेट पारित गरेर पूरक बजेट ल्याउने सहमति भएको थियो । सोही सहमतिअनुसार पूरक बजेटको तयारीका लागि बजेट अध्ययन गर्न संसदीय समिति गठन गर्न लागिएको हो ।

Navadurga sun

सभामुख भीम भण्डारीका अनुसार प्रदेशसभामा प्रस्तुत बजेटको अध्ययन गरी आगामी कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने गरी दलीय प्रतिनिधित्वका आधारमा सात सदस्यीय समिति गठन गरिनेछ । समितिले पेस गरेको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने तयारी गरिएको उनले बताए ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच उक्त बजेट मंगलबार प्रदेशसभाबाट पारित भइसकेको छ ।

बजेट पारित भए पनि स्वयं अर्थमन्त्री मल्लले नै बजेटप्रति असन्तुष्टि जनाउँदै पूरक बजेट ल्याउन आवश्यक रहेको बताएका थिए । बजेटबारे सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएपछि यसको अध्ययन गरी आवश्यक संशोधन तथा थप व्यवस्थाका लागि पूरक बजेट ल्याउने प्रक्रिया अघि बढाउन लागिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...