कञ्चनपुरमा करेन्ट लागेर छोरीको मृत्यु, आमा गम्भीर घाइते



कञ्चनपुर, ७ जेठ- कञ्चनपुरमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १८ सालघरी घर भएर वडा नं. १९ खैरभट्टीमा माइतीघरमा आएका बेला २४ वर्षीया सरस्वती धामीको शुक्रबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बिजुलीको नाङ्गो तारमा कपडा सुकाउन खोज्दा करेन्ट लागेर घाइते भएकी धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जानकारी दिए । करेन्ट लागेर उनकी आमा ५० वर्षीया गंगादेवी धामी गम्भीर घाइते भएकी छन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।



