बाढीले डडेल्धुरामा निर्माणाधीन मोटेरेबल पुल बगायो


डडेल्धुरा, ७ जेठ- लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले डडेल्धुरामा निर्माणाधीन पुल बगाएको छ । गन्यापधुरा गाउँपालिका वडा नं. ३ र नवदुर्गा गाउँपालिका वडा नं. ३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुल बुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो ।



गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले सकाइल हुँदै नवदुर्गा गाउँपालिकाको डाँणा वन जोड्ने सडकखण्डको लमखेती गाडमा निर्माण भइरहेको पुल बगाएको बताए । ‘पानीथुन्नबाँधिएको ड्यामको एक दुई ठाउँबाट निकास दिन खोज्दा माटोको ढिस्को फुटेर ढलान गर्न ठिक्क पारिएको पुलबगाएको हो,’ अध्यक्ष मल्लले भने, ‘पिल्लर नबगाएपनि सटरिङ गरिएका सबै बगाएको छ । ठूलो क्षति नै त भएको छैन ।’ पाँच करोड ५२ लाखमा ठेक्का पाएको राजेन्द्र चाँदनी जेभीले पुल निर्माणको कार्य गरिरहेको थियो ।


जेभीका सञ्चालक आकाश गुरुङले एक्कासी आएको बाढीले ड्याम थुनिदा पुल बगाएको उनले बताए । उनका अनुसार करिब ६ वर्षअघि ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असारमा सकिँदै थियो भने शुक्रबार पुलको ढलान गर्ने तयारी गरिएको थियो ।
तर त्यस अगावै आएको बाढीले पुल भत्काएपछि अब सबै काम प्रभावित भएको गुरुङले बताए । उनले अहिले पनि वर्षा जारी रहेकाले काम गर्न सक्ने अवस्था नरहेकाले भदौपछि मात्र बाँकी निर्माण कार्यअगाडि बढाउने जानकारी दिए ।



