सुदूरपश्चिममा संकटको संकेत : अस्पताल संक्रमितले भरिंदै, ग्यालरीमा समेत उपचार हुँदै

धनगढी, १७ वैशाख- झ्याल बाहिर अक्सिजनका सिलिण्डर समेत राखिएको छ । इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ । ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पुग्ने जो-कोहीले यही दृश्य देख्न सक्छ । कतिपय बिरामी त अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य पनि देख्न सकिन्छ ।

अस्पतालदेखि बढीमा २०० देखि ५०० मिटरको दूरीमा छ प्रदेशकै प्रशासनिक केन्द्र, जहाँ राज्य सञ्चालकहरू बस्छन् । कतिपय मन्त्री र कतिपटक मुख्यमन्त्री नै यही अस्पताल अगाडिको मूलबाटो भएर गुज्रन्छन् । तर यो दृश्य उनीहरूको आँखामा पर्न सकेको छैन, वा उनीहरूलाई छोएको छैन । गत वर्ष सेती प्रादेशिक अस्पताल मातहत रहने गरी स्थापना गरिएको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको छ । संक्रमण पुष्टि भएका र सम्भावित संक्रमितलाई अस्पतालको इमर्जेन्सी वार्डमै राखेर उपचार गर्नुपर्ने अवस्था आइलागेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

तर गत वर्ष बनाइएको एउटा मात्रै कोभिड अस्थायी अस्पतालमा रहेका ५५ शय्यामा अहिले ६० जना उपचाररत छन् । उनीहरूमध्ये १२ जना आईसीयू, तीन जना भेन्टिलेटर, ३५ जना अक्सिजन सपोर्ट र १० जनालाई अवस्थाअनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि स्वदेश फर्कने नेपालीले संक्रमणको जोखिम भित्र्याइरहँदा रोकथाम र अस्पतालको क्षमता वृद्धि गर्ने समयको अवसर प्रदेश सरकार र स्थानीय सरकारहरूसँग थियो ।

त्यसका अतिरिक्त बिहीबार दिउँसोसम्म इमर्जेन्सी वार्डमा रहेका १६ शय्या पनि भरिएपछि बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसिरहेको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डका इन्चार्ज समेत रहेका सिनियर अहेव भरत खातीले अवस्था भयावह बनिसकेको बताए । ‘श्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको छ,’ खातीले भने, ‘इमर्जेन्सी वार्डमा भर्ना भएका अधिकांशलाई अक्सिजन सपोर्टमा राखेका छौं ।

Dadeldhura hospital

संक्रमित बढ्दै गए अक्सिजनको हाहाकार हुनसक्छ : अस्पताल
आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिण्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ । सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले ५५ देखि ६० सिलिण्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिण्डरको आवश्यकता पर्छ ।’

कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको उनको भनाइ छ । ‘तर हामीले मागका आधारमा उत्पादन गर्न नसके पनि जसोतसो व्यवस्थापन गरिरहेका छौं । संक्रमित थपिंदै गएमा अक्सिजन आपूर्तिमा असहज हुनसक्छ’, श्रेष्ठले भने ।

महाकालीमा पनि अक्सिजन व्यवस्थापनमा सकस
कञ्चनपुरको महाकाली अस्पताललाई पनि अक्सिजन व्यवस्थापनमा समस्या हुन थालेको छ । धनगढी र नेपालगञ्जबाट आपूर्ति गर्दै आएको अस्पताललाई गम्भीर संक्रमित बढ्दा अक्सिजनको माग थेग्न मुश्किल भएको हो । अक्सिजन अभावका कारण संक्रमितको उपचारमा समस्या हुन थालेको जनाएको छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले विगतमा दैनिक ४० सिलिण्डर खरीद गर्ने गरेकोमा माग वृद्धि भएका बेला १५ वटासम्म पाउन मुश्किल हुन थालेकोले अक्सिजनको चरम अभाव सिर्जना भएको बताए ।

‘महाकाली अस्पतालमा ६० जना संक्रमित भर्ना भएका छन्,’ डाक्टर रोकायाले भने, ‘उनीहरूमध्ये ६ जना आईसीयू, १५ जना एचडीयू युनिट र २५ जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार गरिरहेका छौं । सबैलाई अक्सिजन दिनुपर्ने भएकाले माग बढेको छ । अझै संक्रमित थपिंदै गए समस्या हुनसक्ने बताए ।’

निर्देशन र आग्रहमै मग्न मन्त्रालय
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना संक्रमितको उपचारमा अक्सिजन नभएर सिलिण्डर अभाव हुनसक्ने भएकाले व्यवस्थापनका लागि सम्बन्धित अस्पताललाई सिलिण्डर व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख समेत रहेका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पतालमा दैनिक १०० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित कम्पनीलाई आग्रह गरिएको बताए । उनले तत्काल अक्सिजन नभएर सिलिण्डर अभाव हुने देखिएकाले खरीदका लागि निर्देशन दिइसकेको जानकारी दिए । ‘अहिलेको अवस्थामा अक्सिजन अभाव हुँदैन,’ कार्कीले भने, ‘नेपालगञ्जबाट समेत सिलिण्डर ल्याएर भरेर लैजान भनिएको छ तर हामीसँग पर्याप्त सिलिण्डर नहुँदा समस्या हुने देखिएकाले व्यवस्थापनमा जुटेका छौं ।’

Loading...