वैशाख १९ गते देखि एक हप्तासम्म डडेलधुरामा निषेधाज्ञा (जारी आदेश सहित)


डडेलधुरा, १७ बैशाख- डडेल्धुरा जिल्लामा वैशाख १९ गते देखि निषेधाज्ञा हुने भएको छ । वैशाख १९ गतेदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।


शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा गर्ने निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर तिब्र गतिमा बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरिने अधिकारी घिमिरेले बताए ।



निषेधाज्ञा समयमा अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने छन् । खाद्यान्नका पसल भने बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तथा दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा यही बैशाख १६ गतेदेखी निषेधाज्ञा लागू गरिएको छ ।





