भारततर्फ लग्दै गरेका १२५ महिला बेचिनबाट जोगिए
कञ्चनपुर, १५ बैशाख- प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो ।



गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताए । उनका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पुर्याउने गरेका छन् । सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन् । संस्थाका अनुसार दलित समुदायका ५३ महिला छन् । त्यसैगरी अन्य ६० र जनजाति समुदायका १२ जना छन् ।



दलित र जनजाति समुदायमा गरिबी र अशिक्षाका कारण ती समुदायका महिला भारतमा बेच्न लैजाने गरेको संयोजक भट्टले बताए । सीमा क्षेत्रबाट रोकथाम गरी घर फिर्ता गराइएकामध्ये ९० महिला सुदूरपश्चिम प्रदेशकै रहेका छन् । जसमध्ये कञ्चनपुरका ४१, बझाङका १० र कैलालीका १८ जना छन् ।
माइती नेपालले दुई महिनामा ११ हजार ५८४ जनालाई सीमानाकामा बेचबिखनसम्बन्धी परामर्श दिएको छ । सीमानाकामा ४१४ सवारी साधन जाँच गरी शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरेको छ । संस्थाले ६५ जनालाई सीमानाकामा पराशर्म गरी सिधैँ घर फर्काएको छ । एक सय ३१ जनालाई पारिवारिक पुनःमिलन गरिएको छ । संस्थामा दर्ता गरिएका खोजतलासका ५५ निवेदनमध्ये ११ जना भेटिएका छन् । अन्यको अवस्था अज्ञात छ ।
त्यसैगरी भारतमा महिलालाई बेच्न लैजाने दलालविरुद्ध दुई मुद्दा दर्ता गरिएका छन् । माइती नेपालले यस अवधिमा भारतमा बेचिएका दुई जनाको उद्धार गरेको छ ।

