अत्तरिया- कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने सुदूरपश्चिम महोत्सव–२०८३ को तयारी तीव्र पारिएको छ । आगामी मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा आयोजना हुने महोत्सवमा करिब पाँच लाख दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।




यस वर्ष सरकारले आइतबारसमेत सार्वजनिक बिदा दिन सुरु गरेकाले महोत्सवमा दर्शकको सहभागिता अझ बढ्ने आयोजकको विश्वास छ ।





सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
यस वर्षको महोत्सवमा बृहत् व्यावसायिक तथा कृषि प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ । कृषि क्षेत्रमा प्रयोग भइरहेका नवीनतम प्रविधि, ताजा तरकारी, विभिन्न कृषि उपज तथा स्थानीय उत्पादन प्रदर्शनीमा राखिनेछन् । यसबाट कृषक, उद्यमी तथा व्यवसायीलाई उत्पादनको बजारीकरण र नयाँ व्यावसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा सुदूरपश्चिमका मौलिक कला, संस्कृति, लोकगीत, लोकनृत्य तथा परम्परालाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति रहने महोत्सवमा भारतलगायत विभिन्न क्षेत्रबाट सहभागी हुने उद्योगी तथा व्यवसायीलाई समेत सहभागिताको अवसर प्रदान गरिने संघले जनाएको छ ।


कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवलाई व्यापारिक तथा मनोरञ्जनात्मक कार्यक्रमका रूपमा मात्र नभई सुदूरपश्चिमको आर्थिक समृद्धि, उद्यमशीलता, पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए ।
उनका अनुसार महोत्सवले स्थानीय उत्पादन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै रोजगारी सिर्जना, लगानी आकर्षण र समग्र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउनेछ । महोत्सवबाट प्राप्त सीप र अनुभवलाई उपयोग गर्दै युवाहरूले आफ्नै व्यवसाय सञ्चालन गरी उद्यमी बन्न सक्ने उनको भनाइ छ ।
आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि करिब चार करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ भने महोत्सव अवधिभर करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत क्षेत्रका करिब ५२४ वटा स्टल रहनेछन् ।
दर्शकलाई आकर्षित गर्न महोत्सवस्थलमा ‘अम्ब्रेला स्ट्रिट’ लगायत विशेष आकर्षणसमेत राखिनेछन् । कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई नवीकरण भएका सदस्यलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै महोत्सवस्थलमा निजी तथा सरकारी सुरक्षा जनशक्ति परिचालन गरिनेछ । साथै, आधुनिक सीसीटीभी क्यामेरामार्फत महोत्सवस्थलको निरन्तर निगरानी गरिने आयोजकले जनाएको छ ।
मौसमी चुनौती तथा सम्भावित विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै धनगढी उपमहानगरपालिकामार्फत आवश्यक सुरक्षा सामग्री, दक्ष जनशक्ति र विपद् प्रतिकार्यको पूर्वतयारी सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको अध्यक्ष ओझाले बताए ।
सुदूरपश्चिमको आर्थिक समृद्धि, उद्यमशीलता, पर्यटन विकास तथा मौलिक कला–संस्कृतिको प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।




