काठमाडौं- नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली भएको छ ।




तराईका केही स्थानमा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।







मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।




