एनपीएलको इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो क्वालिफायरमा स्थान बनाउन मैदान उत्रनेछन्।

Navadurga sun

यस खेलको विजेता टोलीले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको अंकतालिकामा काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। काठमाडौंले सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको थियो।

त्यस्तै, चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए।

आजको खेल जित्दै दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...