अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले आगामी मंसिरदेखि प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ ।




संघले मंगलबार बजारमा रहेका विभिन्न वस्तुगत क्षेत्रका व्यवसायी प्रतिनिधिहरूसँग गरेको छलफलपछि प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार बजार बन्द गर्ने निर्णय गरेको हो ।







संघका अध्यक्ष कमल कडायतले बजारका विभिन्न वस्तुगत क्षेत्रका व्यवसायी प्रतिनिधिहरूसँग छलफल गरी बजार बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । उनले बजार बन्द गर्ने निर्णयसँगै यसको नियमन तथा अनुगमनलाई पनि व्यवस्थित बनाउने निर्णय भएको बताए ।
उनका अनुसार बजार बन्दको नियमन तथा अनुगमनको जिम्मेवारी सम्बन्धित वस्तुगत संघहरूलाई दिइएको छ ।
बैठकले बजार व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउन स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ । साथै, ठेलागाडा तथा बजार क्षेत्रको व्यवस्थापन पनि स्थानीय सरकार र सरोकारवालासँगको समन्वयमा गरिने अध्यक्ष कडायतले बताए ।
बजार अस्तव्यस्त हुँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको उल्लेख गर्दै उनले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।




