काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनुका साथै तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ।




महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।







आज कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले बिहीबार देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




