दार्चुला- सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित ब्यास गाउँपालिका–६, हुति गाउँमा विजयादशमी अर्थात् दसैँको टीकाका दिन मनाइने हरिण जात्रा यहाँको विशिष्ट सांस्कृतिक पहिचान बनेको छ।




हरेक वर्ष मनाइने यस जात्रामा तीन जनालाई कलात्मक रूपमा शृङ्गार गरी हरिणको स्वरूप दिइन्छ। स्थानीय बासिन्दा मौलिक वेशभूषामा सजिएर दमाहा बाजाको तालमा नाचगान गर्दै नौलाकेदार अर्थात् दुर्गा भवानीको मन्दिर प्राङ्गणमा पुग्छन्।







स्थानीय जनश्रुति र धार्मिक विश्वाससँग जोडिएको यस जात्राको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन ऐतिहासिक प्रमाण भने उपलब्ध छैन। नेपालका विभिन्न स्थानसँगै भारतको उत्तराखण्डका गाउँबाट समेत मानिसहरू जात्रा अवलोकन गर्न आउने गरेका छन्।
लेखक तथा डकुमेन्ट्रीमेकर राजेन्द्र कुँवरले पुस्तौँदेखि स्थानीय समुदायले संरक्षण गर्दै आएको यस मौलिक परम्पराको अध्ययन, दस्तावेजीकरण, प्रचारप्रसार र संरक्षणमा जोड दिएका छन्।
प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र मौलिक संस्कृतिले सम्पन्न हुति क्षेत्रको पर्यटन विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसहित सम्बन्धित निकायले सहकार्य गर्नुपर्ने उनको भनाइ छ। जात्राको मौलिकता जोगाउँदै व्यवस्थित प्रवर्द्धन गर्न सके यसले दार्चुलाको पर्यटन र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।




