गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा माघ अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु हुने

अत्तरिया- कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु हुने भएको छ। विश्वविद्यालयमा पहिलोपटक एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रममा सिट निर्धारण भएपछि सुदूरपश्चिममै चिकित्सक तथा स्वास्थ्य जनशक्ति उत्पादनको बाटो खुलेको हो।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने चारवटा शैक्षिक कार्यक्रममा कुल ९० सिट निर्धारण गरेपछि अध्यापन सुरु गर्ने तयारी अघि बढेको छ।

Navadurga sun

विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दका अनुसार आयोगको शैक्षिक क्यालेन्डरअनुसार माघको अन्तिम सातादेखि कक्षा सञ्चालन हुनेछ। आयोगले एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट निर्धारण गरेको छ।

एमबीबीएस अध्ययनका लागि सिट निर्धारण हुनु विश्वविद्यालयका साथै सुदूरपश्चिमको स्वास्थ्य शिक्षा क्षेत्रकै महत्वपूर्ण उपलब्धि भएको रजिस्ट्रार चन्दले बताए। यसले प्रदेशमै चिकित्सक उत्पादनको आधार तयार गर्नुका साथै आगामी दिनमा स्वास्थ्य सेवामा दक्ष जनशक्तिको उपलब्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालयले चिकित्सा शिक्षाको अध्यापनसँगै शिक्षण अस्पतालको सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ। यसै वर्षदेखि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने र ५०० शय्याको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने तयारी भइरहेको रजिस्ट्रार चन्दले जानकारी दिए।

‘हामीले ६२२ बेड जडान गरिसकेका छौँ। यसै वर्षदेखि ३०० शय्याको अस्पताल पूर्ण रूपमा चल्छ। ५०० शय्याको सुरुवात हुन्छ,’ उनले भने।

विश्वविद्यालयले अस्पतालमा आधुनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा विस्तार गर्ने तयारीसमेत गरेको छ। रजिस्ट्रार चन्दका अनुसार यसै वर्षदेखि सिटी स्क्यान, एमआरआई र क्याथ ल्याब सेवा सञ्चालनमा ल्याइनेछ।

चिकित्सा शिक्षाको अध्यापन, शिक्षण अस्पतालको विस्तार र आधुनिक उपचार सेवा सञ्चालनमा आएपछि गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको स्वास्थ्य शिक्षा तथा उपचार सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...